पत्रपत्रिका

सिद्धबाबाको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको खुलासा

इटहरी । बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन् ।

यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँगै विदेशी शक्ति–केन्द्रलाई समेत ‘कन्भिन्स’ गरेर ल्याउँथे। नामुद व्यापारी, समाजसेवी, नागरिक समाजका अगुवा त उनले निम्तो गर्नसाथ आश्रममा पुग्थे।

गिरीले २०६४ सालमा चतरामा आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरे। त्यो बेला क्रान्तिकारी कम्युनिस्ट नेता पुष्पकमल दाहाललाई झिकाएर भैंसी पूजा गराए । दाहालपछि आयुर्वेदिक विश्वविद्यालयको शिलान्यास गर्न नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेलाई डाके । थुपै्रपटक मन्त्री भएका र अहिले बलात्कार आरोपमै पुर्पक्ष थुनामा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि गिरीको आश्रममा आशीर्वाद लिन आएका थिए।

गिरी २०६३ सालदेखि चतरामा बस्न थालेका हुन् । बालसन्त मोहनशरण देवाचार्यको सम्पर्कमा आएपछि गिरी त्यही आश्रममा बस्न थाले। साधु बनेका गिरीलाई बालसन्त देवाचार्यले धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गरेर सार्वजनिक पुराणवाचन कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरे। बालसन्तले नै गिरीलाई डोहोयाउँदै (सिकाउँदै) पहुँचवालासँग परिचय गराए ।

ठूलाबडासँगको सम्पर्क र उठबस बढ्दै गएपछि गिरीले आफ्नो नामबाट एकपछि अर्को गतिविधि बढाउँदै लगे। ती गतिविधमा उनको मुख्य ध्येय नै शक्ति–केन्द्रमा रहेका शीर्ष व्यक्तिलाई डाक्ने हुन्थ्यो। पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, लालाबु पण्डितलगायत नेता पनि बेलाबेलामा गिरीको आशीर्वाद लिने आउँथे।

गिरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नेपाली मिडियाका मालिकहरूसमेत आफ्नो भक्त भएको ‘गफ’ दिन्छन् । २०६५ सालतिर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, वाम बुद्धिजीवी प्रदीप नेपाल र मोदनाथ प्रश्रित गिरीको आश्रम अवलोकन गर्न आएका थिए ।

पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीलगायत धेरै उच्चपदस्थ व्यक्रि उनीसँग आशीर्वाद थाप्न आएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई त दुईपटक चतरा डाकी सके । वातावरण प्रदूषण शुद्धीकरण गर्ने विशेष उद्देश्य राखेर उनले चतरामा गत फागुनमा श्रीराम तारकब्रह्म महायज्ञ गरे। सो महायज्ञ तथा प्रदेश १ मा हरित क्रान्ति अभियान चलाउने घोषणा कार्यक्रमको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी थिइन् ।

त्यो बेला प्रदेश सरकारले उनको हरित क्रान्ति अभियानका निम्ति उल्लेख्य आर्थिक सहयोग पनि गरेको थियो। त्यतिबेला गिरीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईभन्दा आफूलाई माथिल्लो स्तरमा राखेर अभिव्यक्ति दिएका थिए। राईले पनि गिरीलाई आफूले विश्वास गरेको प्रतिक्रिया दिएका थिए । तारकब्रह्म महायज्ञ आयोजना गरेकै बेला उनले सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर पश्चिम किनारको १३ बिघा जग्गामा आठ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवन बनाए ।

चतरा नहरको जग्गामा बसेका कोसी विस्थापित परिवारलाई पाँच वर्षअघि सरकारले डोजर, स्काभेटर, जेसिबी र बल प्रयोग गरेर हटाएको थियो तर गिरीले भने ‘साधु’ आवरणमा नक्सा पाससमेत नगराई सो भवन निर्माण गराएका थिए। गिरीको समूहले गरेको सो अनधिकृत कामलाई प्रशासनले नदेखे जस्तै ग(यो। गिरीले निर्माण गरेको सो अवैध भवन राष्ट्रपति भण्डारीबाटै उद्घाटन भएको थियो ।

गिरीकै निम्तोमा तारकब्रह्म महायज्ञका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आएका थिए। यी तीनैजना नेता उद्घाटनका क्रममा उपस्थित नभए पनि महायज्ञ चलिरहेका बेला बीचबीचमा सहभागी भए।

राष्ट्रपति भण्डारी २०७४ सालमा रामनवमीको अवसर पारेर गिरीले आयोजना गरेको भूसमाधिमा पनि सहभागी भएकी थिइन्। २०७५ मै योग दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री राईसहित प्रदेशमन्त्रीहरू सहभागी भए। प्रधानमन्त्री भएकै बेला देउवा २०७४ जेठ अन्तिममा पत्नी आरजुलाई लिएर गिरीसमक्ष आशीर्वाद थाप्न आएका थिए।

गिरीले आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका नेतादेखि प्रशासनसम्म लबिङ गरेका थिए। उनले आफ्नोे आश्रम छेउमा सुविधा सम्पन्न अतिथि–गृह पनि बनाएका छन्। उनले पोखरा र चतरामा भूसमाधि बसेर चर्चा बटुलेका थिए। गिरीले आफ्ना अनुयायीलाई भन्दै आएका छन्, ‘म लामो समयसम्म जमिनमुनि र जलभित्र बस्न सक्छु, हावामा उड्न सक्छु।’

पोखरामा त उनलाई २०७५ चैतमा नागरिक अभिनन्दनसमेत गरिएको थियो। गिरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नेपाली मिडियाका मालिकहरूसमेत आफ्नो भक्त भएको ‘गफ’ दिन्छन्।

गिरीमाथि एक महिला अनुयायीलाई कात्तिक ४ गते आश्रममा बोलाएर बलात्कार गरेको आरोप लागेको छ। बालात्कारसम्बन्धी उजुरी परेपछि सुनसरी प्रहरीले सोमबार बिहान गिरीलाई नियन्त्रणमा लिएको थियो। उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होममा राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका गिरीविरुद्ध अनुसन्धान चलिरहेको छ। अदालतले अनुसन्धानका लागि चार दिने म्याद दिएको छ।
नागरिकबाट लिएको