पु.समाचार

म्यूजिक अवार्डको ८ औं संस्करण यही मंसिर २० गते

MUSIC KHABAR MUSIC K\AWARD, SEASON-8

काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करण यही मंसिर २० गते प्रज्ञा भवन कमलादीमा सम्पन्न हुँदैछ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन (एसके मिडिया) ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ ।

विभिन्न ४० विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ । म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा प्रदान गरिने सम्मानहरु निम्न रहेका छन्:

दीर्घ साधना सम्मानः वरिष्ठ गीतकार किरण खरेल

पिता भगवती प्रसाद खरेल र माता महालक्ष्मी खरेलको कोखबाट १९९५ साल माघ २७ गते काभ्रपलाञ्चोकको खरेलथोकमा जन्मिएका विशिष्ट गीतकार किरण खरेल ६ दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा सक्रिय छन् । दर्जनौं कालजयी गीतका सर्जक किरण खरेलको औपचारिक गीतियात्रा २०१४ सालमा रेकर्ड भएको ‘ए दूरको सितारा मेरो चाँदनी कहाँ छ’ गीतबाट शुरु भएको हो । जुन यात्रा अन्य सयभन्दा बढी चलचित्रका गीत, राष्ट्रिय भावका गीत, आधुनिक गीत लेखनसँगै अनवरत चलिरहेको छ । स्रष्टा खरेलका कयौं एकल गीतिसंग्रह फुटकर लेखनसँगै ‘के हो तिम्रो नाउँ, एक सय गीत संकलन, मेरी पारु, प्रियतमा’ लगायतका गीतका पुस्तक कृति प्रकाशित छन् ।

२०२४ सालमा प्रबल गोर्खा दक्षिण बाहु, २०३६ सालमा प्रख्यात त्रिशक्ति पट्ट लगायतका विभुषणबाट विभुषित गीतकार खरेल २०२० देखि २०२८ सालसम्मको विभिन्न अवधिमा रेडियो नेपालबाट सर्वोत्तम गीतकारको पदक प्राप्त गर्ने अब्बल स्रष्टा हुन् । २०३९ सालमा छिन्नलता गीत पुरस्कार, २०५६ सालमा संस्कृति मन्त्रालयबाट राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा खरेललाई २०४५ सालमा नेपाल चलचित्र कलाकार संघले सर्वश्रेष्ठ गीतकारबाट, त्यसैगरी महाकवि देवकोटा शताब्दी सम्मान हुँदै राष्ट्रकवि माधव प्रसाद घिमिरे सम्मान, नातिकाजी संगीत पुरस्कार, नारायण गोपाल संगीत सम्मान लगायत तीन दर्जनभन्दा बढी राष्ट्रिय सम्मानबाट सम्मानित तथा अभिनन्दित गरिसकेका छन् । हामी सबैका आदरणीय प्रसिद्ध सर्जक नेपाली गीतकारहरुका प्रेरणाका स्रोता अथक स्रष्टा खरेललाई आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा गीति क्षेत्रमा पुर्याएका अतुलनीय योगदान र राष्ट्रलाई सुम्पिएका अमूल्य निधिहरुको सम्मान गर्दै ‘म्यूजिक खबर दीर्घ साधना सम्मान–२०७६ अर्पण गरिनेछ  ।

दशकको स्रष्टा सम्मान : आलोक श्री, लोकप्रिय संगीतकार

२०४६ सालमा पहिलो गीत ‘तिमी जति टाढा भए पनि’ गीतबाट संगीतको यात्रा शुरु गरेका  लोकप्रिय संगीतकार आलोक श्रीको पहिलो एल्बम ‘छायाँ’ २०५५ सालमा प्रकाशित भएको छ । सर्वाधिक विक्री भएको एल्बम ‘उपहार’मा उहाँको एकल संगीत रहेको थियो ।

उदितनारायण झा र दीपा झाको स्वर रहेको उक्त एल्बमले उनको संगीतको उचाईलाई अझै चुलीमा पुर्याएको थियो । त्यस्तै उनको एकल संगीतमा भारतीय गजल सम्राट जगजित सिंहको एल्बम ‘संयोग’, वरिष्ठ गीतकार एसपी कोइरालासँगको सहकार्यमा उपहार भाग २ र ३ लगायत २० औं एल्बम प्रकाशित भइसकेका छन् । ८ वटा चलचित्रमा संगीत दिइसकेका लोकप्रिय संगीतकार आलोक श्रीका लोकप्रिय गीतहरु ‘विहान उठ्ने वित्तिकै, हिरा काट्ने हिरैमा राखेर, निष्ठुरीले छाडेर, चरिले त छाडेर गइहाली, कहिले तिम्रो पछ्यौरीमा अल्झिएँ’ लगायतका दुई दर्जनभन्दा बढी गीतहरु रहेका छन् ।

पालुङटार गोरखामा जन्मिएर नेपाली संगीत क्षेत्रमा निरन्तर अनवरत रुपमा क्रियाशील रहँदै करिब १३०० भन्दा बढी गीतमा संगीत भरिसक्नुभएका संगीतकार आलोक श्रीलाई आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा ‘म्यूजिक खबर दशकको स्रष्टा सम्मान’ अर्पण गरिनेछ ।

दशकको स्रष्टा सम्मानः सिन्धु मल्ल, लोकप्रिय गायिका

सांगीतिक धरातलमा २ दशक लामो यात्रा तय गरिसकेकी गायिका हुन्- सिन्धु मल्ल । सांगीतिक क्षेत्रमा भर्सटायल गायिकाको रुपमा निकै ख्याती कमाउन सफल उनको औपचारिक सांगीतिक यात्रा भने २०५४ बाट शुरु भएको हो ।

सिन्धु मल्ल लोकदोहोरी, फिल्म, आधुनिक, पप, भजन विधाका ५ हजार भन्दा बढी गीतमा आफनो स्वर दिइसकेकी छिन । उनमा सबै किसीमका गीत गाउने क्षमता छ । जुन जनराको गीत गाए पनि उनको स्वरमा म्याच हुन्छ । कुनै बेला थियो उनले गाएका गीतहरू जतासुकै घन्किन्थे । ‘झलझली आँखामा, ससुरालीमा, धरानको बजारैमा, काफल गेडी कुटुक्कै, छिनको छिनैमा, नेपाल बन्द’ लगायतका यस्ता थुप्रै गीतहरू छन् जसलाइ दर्शकले अत्याधिक रुचाएका छन् । सदाबहार बनेका छन् ।

सुमधुर स्वरकी धनि सिन्धुले हिट्स एफएम अवार्ड २०६१, इमेज एफएम अवार्ड २०६२, कालिका एफएम अवार्ड २०६१, नेपाली गरिमा अवार्ड २०६२ लगायतका दर्जनौं अवार्ड र सम्मान पाइसकेकी छिन । स्टेज कार्यक्रमका लागि रोजाइमा पर्दै आएकी गायिका सिन्धु मल्ललाई आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ को अवसरमा ‘म्यूजिक खबर दशकको स्रष्टा सम्मान’ अर्पण गरिनेछ ।

डायस्पोरा संगीत सम्मान : ज्ञानेन्द्र गदाल

इलामको फिक्कलमा जन्मिएर नेपाली गीत लेखन एवं साहित्य क्षेत्रमा क्रियाशील रहेका गीतकार ज्ञानेन्द्र गदाललाई चिनाउने गीतहरु भने ‘दिन ढल्यो अँधेरी रातमा, कुन शहरमा घुम्दै होला मलाई छुने मन, सागर रहेछ माया, सम्झनाका घाउहरु, भृकुटी बुद्ध जन्मेको’ लगायतका छन् । यौवन, आँखी झ्यालैमा, परदेश, वेभ अफ मेमोरी जस्ता एल्बमहरु प्रकाशित भइसकेका छन् ।

झरिपछिको आकाश, मलाई छुने मन जस्ता कविता संग्रह प्रकाशित गरिसकेका गीतकार गदाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षसमेत भइसकनुभएको छ । रेडियो नेपालबाट सर्वोत्कृष्ट गीतकारको अवार्ड पाइसक्नुभएका गदालले दर्जनभन्दा बढी अवार्ड र सम्मानहरु पाइसक्नुभएको छ । आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा उनलाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’ अर्पण गरिनेछ ।

युवा प्रतिभा संगीत सम्मानः नवीन पौडेल, गायक

पाल्पामा जन्मिएर नेपाली गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका गायक हुन्- नवीन पौडेल । सांंगीतिक यात्राका क्रममा डेढ दशक लामो यात्रा गरिसक्नुभएका गायक नवीन पौडेल स्टेज कार्यक्रमहरुमा नेपालका ६० जिल्लाभन्दा बढी पुगिसकेका छन् ।

रोइला गीत, दोहोरी गीतको क्षेत्रमा उनको लोकप्रिय गायक पौडेलका गीतहरु ‘यस्तै हुन्छ भन्या भा, श्रीनगर बतासे डाँडैमा, सुदूरपश्चिम घर मेरो, बैंश आको छोरीलाई, मनमा माया’ लगायत दर्जनौं रहेका छन् । लोकप्रिय गायक नवीन पौडेललाई आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमाउनलाई ‘म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान’ अर्पण गरिनेछ ।

बाल प्रतिभा प्रोत्साहन सम्मानः क्रिस्टिना श्रेष्ठ

क्रिस्टिना श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेकी गायिका हुन् । पिता अनन्त श्रेष्ठ र माता अर्पणा श्रेष्ठको कोखबाट २०६१ साल जेठ २५ गते मा जन्मिएकी हुन् । यति सानो उमेरमा नै उनले २ दर्जन बढी गीतमा स्वर भरिसकेकी छिन् ।

संगीतप्रतिको लगाव र जादुमयी स्वरका कारण उनले भारतको लोकप्रिय रियालिटी शो सारेगमप लिटिल च्याम्पको दिल्ली अडिसन सम्म पुगेकी छिन् । सेन्टपल इन्टरनेसनल स्कुलमा कक्षा ९ मा मा अध्ययनरत छिन् । क्रिस्टिनाको पहिलो गीत ‘परि हुँ म’ हो । उनले गाएका गीतहरु केही देशभक्ति र अन्य बाबालिकासँग सम्बन्धीत छन् ।

उनले स्वर दिएका गीतहरुको भीडयोमा समेत उनले अभिनय गरेकी छिन् । सुमधुर स्वरकी धनि क्रिस्टिना थुप्रै पुरस्कार तथा अवार्ड चुम्न सफल भएकी छिन् । बेस्ट चाइल्ड आर्टिस्ट वीनर २०१८, ओएस नेपाल म्यूजिक अवार्ड, बक्स अफिस म्यूजिक अवार्ड पाउन सफल भएकी छिन् । क्रिस्टिनाको आमा अर्पणा श्रेष्ठ पनि नेपालकी चर्चित र स्थापित गायिका नै हुन् । आमा अपर्णाको ‘तिमी हिँडने गोरेटोमा’ बोलको गीत पनि कुनै समय निकै चर्चामा रहेको गीत हो । गायिका क्रिस्टिना श्रेष्ठलाई आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान’ अर्पण गरिनेछ ।

संगीत पत्रकारिता पुरस्कार : विजयरत्न तुलाधर, वरिष्ठ पत्रकार

वरिष्ठ रंग पत्रकार विजयरत्न तुलाधर २०३९ सालमा गोरखापत्रमा आर्टिकल छापिएपछि पत्रकारिता शुरु भएको हो । २०४२ सालमा सम्वाददाताको रुपमा कामना मासिकमा प्रवेश गरी रंग पत्रकारितालाई स्थापित गर्दै पत्रकारिता क्षेत्रमा अनवरत रुपमा अहिलेसम्म सक्रिय रहेका छन् ।

उनले सम्पादन गरेका पत्रिकाहरु कलाकार आवाज, रोहिनी, रोशनी, स्टारडम लगायत दर्जनौं छन् । नेपाल भाषाको पत्रिकामासमेत संलग्न रहेर रंग पत्रकारितामा जीवन समर्पण गर्दै आएका वरिष्ठ पत्रकार विजयरत्न तुलाधर यतिखेर नेवा अनलाइन डटकमको संरक्षक रहेर कार्य गरिरहेका छन् ।

Nepal Bhasha's First Leading Journalist Mr. Bijay Ratna Tuladhar.

आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड –२०७६ का अवसरमा वरिष्ठ पत्रकार तुलाधरलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’ अर्पण गरिनेछ ।