समाचार

राष्ट्रपति भण्डारीको दाबीः सबै देशसँग सम्बन्ध राख्ने वैदेशिक नीति टङ्कप्रसादले अघि बढाउनुभएको हो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा टङ्कप्रसाद आचार्यको नाममा स्थापना भएको पुरस्कार पहिलोपटक वितरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘टङ्कप्रसाद आचार्य राष्ट्रिय गौरव पुरस्कार’बाट भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई सम्मानित गरिन् । पुरस्कारको राशि नगद रु दुई लाखसहित सम्मानपत्र रहेको छ । आचार्यले संसदीय प्रजातन्त्र पुनस्थापना आन्दोलनमा पु¥याउनुभएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी राष्ट्रपति भण्डारीले प्रजातन्त्र सेनानी स्नेहलता वन श्रेष्ठलाई ‘रेवन्तकुमारी आचार्य मानव अधिकार पुरस्कार’द्वारासम्मान गरिन् । पुरस्कारको राशि नगद रु एक लाखसहित सम्मानपत्र छ । श्रेष्ठले विसं २००४ देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको कदर गर्दै पुरस्कार दिइएको हो ।

टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले उनको १०८औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा दुवै पुरस्कार हस्तान्तरण गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले निरङ्कुशताविरुद्ध पहिलोपटक बिगुल फुक्ने प्रजा परिषद् स्थापनामा पूर्वप्रधानमन्त्री आचार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् ।

आचार्यले प्रधानमन्त्रीत्वकालमा पञ्चशीलका आधारमा सबै देशसँग उत्तिकै सम्बन्ध राख्नुपर्छ भन्ने वैदेशिक नीति अघि बढाउनुभएको स्मरण राष्ट्रपतिले गरिन् । “भूमि व्यवस्थामा सुधार, निजामती सेवालाई सुदृढीकरण, खुला प्रतिस्पर्धा र लोकतन्त्रप्रति आस्था जगाउन कार्यक्रम आफ्नो प्रधानमन्त्रीत्वकालमा आचार्यले शुरु गर्नुभएको थियो”, राष्ट्रपति भण्डारीले भनिन् ।

कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले राजनीतिक प्रणालीमा भएको परिवर्तनलाई अघि बढाउन लागेको बताए । प्रणाली पुनर्संरचना अझै पूरा हुन नसकेकाले त्यसलाई पूर्ण गर्न लागिएको उनले जानकारी दिए । “त्यसका लागि कानून परिवर्तन, नीति निर्माणलगायत काममा सरकारले ध्यान दिएको छ, अहिलेको सरकार एउटा दृष्टिकोण बोकेर अघि बढेको छ”, उनले भने ।

नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन, वैदेशिक सहायता प्राप्त गर्न पनि पूर्वप्रधानमन्त्री आचार्यले काम गर्नुभएको उपप्रधानमन्त्री पोखरेलले स्मरण गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय आचार्य र श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमाल, पूर्वअध्यक्ष एवं पुरस्कार छनौट समितिका अध्यक्ष प्रा डा. सोमप्रसाद गौचनले स्व आचार्यले नेपालको राजनीतिमा पु¥याउनुभएको योगदानको चर्चा गर्दैै राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब देश निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।