पु.समाचार

प्रधानसेनापतिको नेतृत्व संवाद कार्यक्रम सम्पन्न

काठमाडौं । आज(मंगलबार) जंगी अड्डामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको उपस्थितिमा प्रधानसेनापतिको नेतृत्व संवाद कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रम प्रधानसेनापति महारथी थापाको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, पृतना, निर्देशनालयका पतिहरु र स्टाफहरुको उपस्थितिमा संचालन भएको थियो ।

सबै तहका नेतृत्व तथा स्टाफ तहका अधिकृतहरुलाई नेपाली सेनाका ऐन, नीति(नियम, नियमावली, आदेश र निर्देशनहरुलाई थप स्पष्ट पार्न तथा विभिन्न अवस्था र परिस्थितिमा ती नियम कार्यान्वयनमा हुन सक्ने दुविधालाई हटाउन मद्दत पुर्यााउने उद्देश्यका साथ दोस्रो पटक संचालन भएको आजको उक्त कार्यक्रममा स्वार्थका द्वन्द्व , अधिकारको दुरुपयोग र यौनजन्य शोषण र दुर्व्यवहार जस्ता आचरण सम्बन्धी विषयहरु समावेश गरी संचालन गरिएको थियो ।

सैनिक आचरण, अनुशासन, नैतिकता र मुल्यमान्यतामा थप कटिवद्ध भई दिइएको जिम्मेवारीलाई पालना गर्न उच्च हौसला र प्रेरणा मिलोस् भनि गतवर्ष मिति २०७५ कार्तिक २६ गतेबाट संचालन गरिएको थियो । साथै यस वर्षको नेतृत्व संवाद कार्यक्रम नेपाली सेनाको प्रत्येक अंगको तल्लो तहका नेतृत्व तथा स्टाफ तहसम्मका सम्पूर्णलाई समावेश गरी २०७६ चैत्र 30 गतेभित्र संचालन गर्ने योजना रहेको छ ।

प्रधानसेनापतिबाट शुरु भई नेपाली सेनाका तल्लो तहका नेतृत्व तथा स्टाफहरु बीच खुल्ला अन्तरक्रिया गराई संचालन गरिने यस नेतृत्व संवाद कार्यक्रमले नेपाली सेनाका सबै तहका नेतृत्व तथा स्टाफहरुले आफूलाई प्राप्त अधिकारको सदुपयोग गरी आर्थिक अनुशासनमा रही पूर्ण पारदर्शिताका साथ दिइएको जिम्मेवारीलाई ईमान्दारीपूर्वक उत्कृष्ट ढंगबाट निर्वाह गर्न थप सचेत तथा सजक बनाउन सहयोग पुर्योउने विश्वाास नेपाली सेनाले लिएको छ ।