खेलकुद

एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक जीत, सन्तोषीले जितिन् स्वर्णपदक

काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाइन् ।

भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चदै रजत पदक जितिन् । सोही स्पर्धामा श्रीङ्का तेस्रो बन्यो । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारिन् ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएकी थिइन् । त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जितेकी थिइन् । योसँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।