प्रदेश 2

सर्लाही जिल्लालाई असार १५ मा साक्षर घोषणा गरिने

सर्लाही । सर्लाही जिल्लालाई २०७७ असार १५ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला समन्वय समिति सर्लाहीमा सोमबार आयोजित कार्यक्रममा सर्लाही जिल्लाका स्थानीय तहका प्रमुखहरुले असार १५ गते साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएको हुन् ।

“हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ स्थानीय तहका पदाधिकारीका लागि साक्षर नेपाल वर्ष २०७६ अवधारणासम्बन्धी अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा सर्लाही जिल्लाका २० वटै स्थानीय तह २०७७ जेठ मसान्तभित्र साक्षर पालिका घोषणा गर्ने र असार १५ गते जिल्लालाई साक्षर घोषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख चेतबहादुर पोखरेलले जानकारी दिएका छन् ।

शिक्षा तथा मानवस्रोत केन्द्र सानोठिमी भक्तपुरको आयोजना र शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीको संयोजनमा भएको कार्यक्रममा साक्षर पालिका र जिल्ला घोषणाको लागि सबै पालिकास्तरमा निरक्षरको पहिचान गरी शिक्षित बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले जानकारी दिए ।

साक्षर बनाउनका लागि सञ्चालन गरिने कक्षामा १५ देखि ६० वर्षसम्मका निरक्षर व्यक्तिलाई सहभागी गराईने गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मलङ्गवा नगरपालिकाका प्रमुख नीरशल साह, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव, हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम राय, चन्द्रनगर गाउँपाकिकाका प्रमुख महेन्द्र महतो, कौडेना गाउँपालिकाका प्रमुख रामप्रसाद राय, बसबरिया गाउँपालिकाका प्रमुख रामअयोध्या राय, रामनगर गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बर्मालगायत स्थानीय तहका प्रमुखहरुको सहभागिता थियो ।