अन्तर्राष्ट्रिय

ट्युनिसियामा मृत्यु हुने पर्यटकको सङ्ख्या २६ पुग्यो, १७ घाइते

एजेन्सी । ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ । देशको उत्तरी क्षेत्रमा आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या सोमबारसम्म बढेर २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी अरु १७ जना घाइते पनि भएको समाचारमा जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ । राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु रहेका थिए । प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाका बारेमा छानविन सुरु भइसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् । देशका राष्ट्रपति कैस सैद र बाहिरिदै गर्नुभएका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गरेका थिए ।

दुर्घटनामा परेका सवै जना ट्युनिसियाका नागरिक भएको जनाइएको छ । खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ । गत बर्ष सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार १०० नागरिकको मृत्यु भएको थियो ।