राजनीति

अपाङ्ग दिदीबहिनी/दाजुभाइको साहसिक योगदानमा काँग्रेसको सदैव उच्च सम्मानः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।

अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना दिँदै उनले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि काँग्रेस सदैब क्रियाशील रहिरहने बताए ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार प्राप्तिका लागि अन्तरराष्ट्रियरुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइले पु¥याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको काँग्रेस उच्च सम्मान गर्दछ । मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने काँग्रेसको धारणा रहँदै आएको छ”, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गरेका छन्।