राजनीति

नेकपा एकताको औचित्य रहेनछ : प्रवक्ता शर्मा

bishwo-parkash-sharma-congress

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको परिमाणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । आज(सोमबार) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले सहानुभूतिका कारण कास्की र दाङमा निर्वाचन जितेको बताए ।

उक्त सम्मेलनमा प्रवक्ता शर्माले बागलुङमा दुईतिहाइले नपुगेर नेकपाले राष्ट्रिय जनमोर्चाको सहयोग लिनुपरेको  बताए । उनले यसपटक कांग्रेसले मतान्तर घटाएको र हरेकजसो स्थानमा मतसंख्या पहिलेको तुलनामा बढाएको दाबी गरे ।

शर्माले नेकपा (एमाले र माओवादीबीच) एकताको औचित्य रहेनछ भन्ने पुष्टि भएको पनि बताए । उनले यस पटकको उपनिर्वाचनको परिणामले नेकपा एकता वास्तवमा एकता भएको रहेनछ भन्ने देखाएको भन्दै विगतका एमाले, माओवादीले विभिन्न स्थानमा एकअर्कालाई अन्तरघात गरेको संकेत पनि गरे ।