पत्रपत्रिका

राष्ट्रिय गौरवका आयोजना काम कछुवा गतिमाः समयमै निर्माण नहुँदा अलपत्र जस्तै

काठमाडौँ । लामो समयदेखि निर्माण थालिएका २१ वटा गौरवका आयोजनामध्ये ११ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ ।

नेपाली सेनाले ठेक्का लिएको ७२ किमि लामो काठमाडौं–तराईमधेस द्रुत मार्गका प्रगति ७ प्रतिशत मात्रै छ । ‘एकैचोटि सक्ने गरी काम भइरहेको छ,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘कामको गति बढाइरहेका छौं ।’ कल्भर्ट, पुल, सडक निर्माणलगायतको काम भइरहेको छ । ०७४ जेठ १४ मा शिलान्यास भएको यो सडकको साढे चार वर्षभित्रमा निर्माण सक्नुपर्नेछ ।

सेनाले समयमै काम सक्ने दाबी गर्दै आएको छ । त्यस्तै ०४४ सालमा सुरु बबई सिँचाइ आयोजनाको प्रगति सन्तोषजनक छैन । ‘यो पुरानो आयोजना हो,’ आयोजना निर्देशक मधुकर रानाले भने, ‘पहिला थाहा भएन, अहिले काम भइरहेको छ ।’ सबैभन्दा पुरानो लुम्बिनी क्षेत्र विकास कोष रहेको छ । ०४२ सालमा सुरु आयोजनाको हालसम्म प्रगति ८२ प्रतिशत पुगेको छ ।

सरकारले केही दिनअघि सार्वजनिक गरेको गरेको चौमासिक रिपोर्टमा गौरवका आयोजनाको प्रगतिलाई तीन खण्डमा विभाजन गरेर मूल्यांकन गरेको छ । पहिलो खण्डमा सन्तोषजनक दोस्रोमा सामान्य र तेस्रो समस्यामूलकका रूपमा विभाजन गरिएको छ ।

मोडालिटी निर्धारण हुन बाँकी र समस्यामूलक आयोजनामा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, रेलमार्ग निर्माण, मेलम्ची खानेपानी आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना रहेका छन् । आयोजना समयमै निर्माण नहुँदा अलपत्रजस्तै बनेका छन् ।

केही आयोजनाको अहिलेसम्म कुनै प्रगति देखिएको छैन । गौरवको आयोजनाका रूपमा प्रचार गरिए पनि जग्गा टुंगो नलाग्ने, ठेक्का हुन नसक्ने र आयोजनाभित्र पर्ने बिजुलीका पोल, ढल र रूखको समस्या देखापर्ने गरेको छ । यस्तै समस्या सिक्टा सिँचाइ आयोजनामा छ ।

एउटा ठेक्का सम्झौताबारे मुद्दा अदालतमा विचाराधीन रहेका कारण आयोजना समयमै नसकिने निश्चित रहेको आयोजना निर्देशक कृष्ण नेपाल बताउँछन् । ‘यो आर्थिक वर्षमा सकिँदैन, ५र६ वर्ष समय थप्नुपर्ने भएको छ,’ उनले भने, ‘स्थानीयस्तरमा विवाद र जग्गा अधिग्रहणमा समस्या भएका कारण समयमै काम सकिन गाह्रो छ ।’

०६२र०६३ मा सुरु सिक्टाको अहिलेसम्म प्रगति ६० प्रतिशत छ । सरकारले सार्वजनिक गरेको चौमासिक रिपोर्टमा सामान्य रूपमा काम भइरहेको आयोजनामा सिक्टा सिँचाइ, रानीजमरा कुलरिया सिँचाइ, उत्तर–दक्षिण ९कर्णाली० लोकमार्ग, उत्तर–दक्षिण ९कोसी कोरिडोर० सडक, उत्तर–दक्षिण ९कालीगण्डकी कोरिडोर० लोकमार्ग, काठमाडौं–तराईमधेस द्रुतमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोष छन् ।

सन्तोषजनक अवस्थामा काम भइरहेका आयोजना कम छन् । सरकारले सार्वजनिक गरेको रिपोर्टमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भेरी बबई बहुउद्देश्यीय डाइभर्सन, हुलाकी सडक आयोजना, पुष्पलाल मध्य पहाडी लोकमार्ग र बबई सिँचाइ आयोजनालाई सन्तोषजनकमा राखिएको छ ।

पूर्वसचिव किशोर थापा राष्ट्रिय गौरवको आयोजनालाई साँच्चिकै गौरव गर्नलायक नबनाइएकाले समयमै काम नसकिएको बताउँछन् । ‘गौरवका आयोजनाले हरेक हिसाबले विशेष महत्त्व पाउनुपर्छ,’ उनले भने, ‘तर, गौरवका आयोजनामा काम गर्नु र अरू आयोजनामा काम गर्नुमा केही फरक छैन, लामो समय अल्झिनुको कारण कर्मचारीले गौरव महसुस गरेनन्, प्रभावित क्षेत्रका स्थानीयलाई यो आयोजना हाम्रो पनि गौरव हो भन्ने लागेन ।’ उनले राष्ट्रिय गौरव भनेको कुनै दल र सरकार विशेषको नभएको टिप्पणी गरे ।

‘गौरवका आयोजनामा जग्गा अधिग्रहणको समस्या पहिल्यै समाधान गर्नुपर्‍यो, ठेक्का प्रक्रिया फरक हुनुपर्‍यो, काम गर्ने कर्मचारीहरूको सुविधा, काम कर्तव्य अधिकार फरक हुनुपर्‍यो,’ उनले भने, ‘तर, स्थानीयको सहयोग छैन, आयोजनालाई अप्ठ्यारोमा पार्ने, कसरी फाइदा लिने भन्ने मात्र छ । गौरवको आयोजनामा माग तेर्साएर कसैले पनि काम रोक्न नहुने थापाको तर्क छ ।

‘राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएपछि ती ठाउँमा बन्द हडताल चक्का जाम अवरोध गर्न नपाइने हुनुपर्‍यो,’ उनले भने, ‘विभिन्न निकायबाट लिनुपर्ने स्वीकृत पहिल्यै लिएको हुनुपर्‍यो ।’ काम सुरु भएपछि सहमति लिनुपर्ने गोल चक्करमा आयोजनालाई पार्नु नहुने उनले बताए ।

‘चालु आयोजनामा कुनकुन निकायको सहमति लिनुपर्ने हो, ती निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर सही गराउनुपर्‍यो,’ उनले भने, ‘मन्त्रालयमा फाइल पठाई शाखाशाखा घुमाएर दुस्ख दिनु भएन ।’पुराना आयोजनाको समय थप गरिए पनि काममा भने सोचेअनुरूपको प्रगति हुन सकेको छैन ।

कहिले सक्नुपर्ने हो भन्ने प्रश्नमा आयोजना प्रमुखहरू सुरु मिति खुलाउन चाहँदैनन् । संशोधित मिति भन्दै टार्ने गरेका छन् । त्यस्तै निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म प्रगति नै देखिएको छैन । जहाँ काम नै सुरु भएको छैन । बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि अहिलेसम्म प्रगति छैन ।

रेलवे तथा मेट्रो विकास आयोजना ९बर्दिबास–सिमरा० को प्रगति २० प्रतिशत मात्र छ । ०६५र०६६ मा सुरु भएको हुलाकी राजमार्गको प्रगति ४३ प्रतिशत पुगेको छ । ‘सुरुको अवस्थामा काम कम भए पनि अहिले रफ्तार बढेको छ,’ हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अशोक तिवारीले भने, ‘अहिले समस्या छैन ।’

                                                                                                                          कान्तिपुबाट लिएको