समाचार

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ र बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

मिक्लाजुङ । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन् ।

गएराति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।  गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो । विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा पिता नरबहादुर र आमा दिलमाया कुरुम्बाको जेठो छोराका रुपमा वीरबहादुरको जन्म भएको थियो । कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

विसं २०५२ मा तत्कालीन नेकपा ९एमाले०बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित भएको थियो ।

यस्तै बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गरेक हुन् ।

शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याएका हुन् । बागलुङ क्षेत्र नं २ ९ख० बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा९संयुक्त०का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् ।

विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ ९ख० ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ ।

पैँतीस हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी भएका छन् ।