अन्तर्राष्ट्रिय

लिबियाबाट १४० जना अवैध आप्रवासी फिर्ता

एजेन्सी । युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ । आप्रवासन केन्द्र लिबियाका अनुसार यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएका हुन् ।

केन्द्रले स्वदेश फर्काइएका ती व्यक्तिहरुमा अफ्रिकी मुलुकहरु चाड र सुडानका नागरिक रहेका छन् । केन्द्रले जारी गरेको पछिल्लो विज्ञप्तिमा अफ्रिकी मुलुकहरु चाड र सुडानका सरकारसँगको सहकार्यमा उनीहरुलाई फिर्ता गरिएको उल्लेख छ । अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु युरोप प्रवेश गर्न लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् ।

तर लिबियामा बढेको असुरक्षा र अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन सन् २०११ मा पतन भएसँगै लिबियामा अझ असुरक्षा बढेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० का अनुसार हाल ६ लाखभन्दा बढी अवैध आप्रवासी लिबियामा रहेका छन् ।

उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको पनि संगठनले जनाएको छ । समुद्रबाट उद्धार गरिएका वा लिबियाली सुरक्षाकर्मीले पक्राउ गरेका हजारौं आप्रवासीलाई निकै भिडभाडयुक्त अस्थायी आश्रयस्थलमा राखिएको पनि संगठनले जनाएको छ ।

असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु बन्द गर्न आग्रह गरेपनि लिबिया सरकारले यी शिविरहरु बन्द गर्न अस्वीकार गरिरहेको छ ।