खेलकुद

१३ औं सागमा दोस्रो दिन आज विभिन्न १२ खेल हुँदै

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन सोमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुन्छ ।

अन्य खेल काठमाडौंमा हुनेछ । सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ ।

पुरुष फुटबलः पुरुष फुटबलमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछ । बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

भलिबलः भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन् ।

पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंंगलादेश र श्रीलंका भिड्नेछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । खेल अपरान्ह ४ बजे सूरु हुनेछ ।

खो खोः खो खोमा दोस्रो दिन पुरुष स्पर्धामा श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेश बिहान ९ बजे र नेपाल र भारत बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् ।

कीर्तिपुरको नयाँ बजारमा सोही दिन श्रीलंका र नेपाल अपरान्ह ४ बजे र भारत र बंगलादेश साँझ ५ बजे भिड्नेछन् ।महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।

सोही दिन श्रीलंका र नेपाल साँझ ६ बजे र भारत र बंगलादेश साँझ ७ बजे भिड्नेछन् । आईतबार नेपालका दुवै टिमले सफलता हात पारेका थिए । नेपालको पुरुष र महिला टिमले बंगलादेशलाई हराएका थिए ।

करातेः साग अन्तर्गत कराते सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तेक्वान्दोः सागमा नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो सोमबार सुरु हुँदैछ । सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।तेक्वान्दोमा सोमबार सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टनः पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ ।

नेपालको लागि पुरुष टिम इभेन्टमा दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै टिम इभेन्टको फाइनल खेल पनि भोली नै हुने छ । सेमिफाइनल पुगेको नेपालले यसअघिनै टिम इभेन्टमा पदक पक्का गरिसकेको छ । सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुनेछ ।

महिला क्रिकेटः पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ । पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।

यस खेल नेपाली महिला क्रिकेट टिमका लागि घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय खेल समेत हुनेछ । महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको छैन ।

टेबल टेनिसः टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

टेनिसः लन टेनिसको प्रतिस्पर्धा पनि सोमबारबाट सुरु हुनेछ । सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ ।

बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ । गल्फः साग अन्तर्गत गल्फ सोमबारबाट सुरु हुनेछ । गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।

उसुः उसुको औपचारिक उद्घाटन सोमबार आज हुनेछ । उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

ट्रायथलनः पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।