प्रदेश 2

सर्लाहीको हरिपूर्वामा समाजवादी पार्टी विजयी, राजपा प्रतिष्पर्धी

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा आज वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास राय ३२८ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार दोस महम्मद अन्सारी पनि ३२८ मत ल्याएर पराजित भएका छन् । राजपाका उम्मेदवार राम विश्वास राय र दोस महम्मद अन्सारीको समान मत रहेको छ । जनमत पार्टीका उम्मेदवार दिनेश यादवले ५२ मत प्राप्त गेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार रामपृत पासवानले २३ मत मात्र प्राप्त गरेका छन् । १५ मत बदर भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

निर्वाचित वडाध्यक्ष श्यामबाबु रायलाई प्रमाणपत्र प्रदान गरिसकेको उनले बताए । वडाध्यक्षका लागि आज भएको उपनिर्वाचनमा करीब ८१ प्रतिशत मत खसेको थियो । एक हजार ३५६ मतदाता रहेकोमा एक हजार ९३ मत खसेको थियो ।

बिहान ७ बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण रुपले साँझ ५ बजे सम्पन्न भएको थियो । चुनावका लागि दुईवटा मतदान केन्द्र तोकिएको थियो । मतदानको लागि क र ख गरी दुई वटा मतदान केन्द्र तोकिएको थियो । मतदानमा ५८८ जना पुरुष र ५७५ जना महिलो मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष इसाक अन्सारीको मृत्यु भएपछि हरिपूर्वा– १ मा उपनिर्वाचन भएको छ ।