पु.समाचार

बौदीकाली गाउँपालिका– ५ मा ७२ प्रतिशत मत खस्यो

नवलपरासीपूर्व । नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२ दशमलब ०९ प्रतिशत मत खसेको छ । आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा कूल ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

यस वडामा ८५३ मतदाता रहेका थिए । तीमध्ये पुरुष २५७ र महिला ३५८ जनाले मतदान गरेका छन् ।  मतदान शान्तिपूर्ण रुपमा उत्साहजक तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । बौदिकाली वडा नंं.५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान भएको थियो ।

सबै मतपेटिका गाउँपालिकाको केन्द्र डेढगाउँमा ल्याइसकिएको र सर्वदलीय बैठक बसेर मतगणनाको आचारसंहिता निर्माण गरी आजै साँझ ८ बजेसम्ममा मतगणना प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।

थोरै मत भएकाले अन्तिम नतिजासमेत रातिनै आइपुग्ने समेत उनले बताए । यहाँ वडाध्यक्षका लागि तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।