गण्डकी प्रदेश

बाग्लुङ-२ मा ६३ प्रतिशत मत खस्यो

baglungupnirwachan

बाग्लुङ । बाग्लुङ-२ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा ६३ प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिएअनुसार उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको हो  ।

उपनिर्वाचनका लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्रहरु तोकिएको थियो । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटेको क्षेत्र नम्बर–२ (ख) मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता थिए ।

मतदान कार्यक्रम सकिए लगत्तै सम्बन्धित मतदानस्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको भवनमा संकलनको काम शुरु भएको छ ।

शनिबार राती अवेरसम्म मतपेटिका संकलन भएपछि आईतबार बिहानदेखि मतगणता शुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन अधिकृत पौडेलको भनाई छ ।

प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए ।

यसगरी बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बडिगाड–२ मा भएको वडाध्यक्ष निर्वाचनमा एक हजार ७ सय ४२ मतदाता मध्ये एक हजार १ सय ३४ मत खसेको छ । वडाध्यक्षको मतगणता शनिबार राती ८ बजेदेखि बडिगाड गाउँपालिकाको सभाहलमा हुनेछ ।