राजनीति

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् धांधली रहित हुन नसक्नु दु:खद- कांग्रेस

काठमाडौं । ३७ जिल्लाका ५२ स्थानका लागि आज उपनिर्वाचन सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री एवम् कांग्रस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक पद्दतिको यो महत्वपूर्ण अभ्यास सरीक सम्पूर्ण मतदाताहरूमा नेपाली कांग्रेसको तर्फबाट बधाई ज्ञापन गरेका छन् ।

सभापति देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने भन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरुपयोग गरीएको आरोप लगाउँदै त्यसका बावजुद पनि प्रतिकुल वातावरणमा मतदानमा सहभागी सवै मतदाताप्रति आभार प्रकट गरेका हुन् ।

मतगणना लगायतको बाँकि कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई उनले आव्हान समेत गरेका छन् । साथै सभापति देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता राख्न अनुरोध गर्दै उपनिर्वाचन सम्पन्न भएका सबै ठाउँका साथीहरुलाई सजगता रहन अपिल समेत गरेका छन् । उनले निर्वाचनमा अहोरात्र खटिएका पार्टीका सवै तहका कर्मचारी एवं शुभचिन्तकहरुमा निरन्तर उत्साह र कृयाशिलताका लागि अपिल समेत गरेका चाहन।

“निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भय र धांधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायीत्व सरकारको हो । नेपाली कांग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो ।” कांग्रेसद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ- “वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ ।”

उपनिर्वाचनका क्रममा सरकारी साधन–श्रोतको दुरुपयोग, सत्ताको संरक्षणमा भएका भौतिक आक्रमणका घटना, अनेक भय र प्रलोभनका घटनाप्रति नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।