साहित्य

नेपाल भाषाका गद्यगुरु बज्राचार्यको १६३ औँ जन्मजयन्ती आज

p-nishanandra-bajracharya

काठमाडौं । निष्ठानन्द स्मृति गुठीले नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६३औँ जन्मजयन्तीका अवसरमा आज ओमबहालमा स्मृतिसभाको आयोजना गर्यो । नेपाल भाषा साहित्यका एक हस्तीका स्मरण गरिँदै आएका पण्डित बज्राचार्यले गौतम बुद्धको जीवनीमा आधारित ‘ललित विस्तार’ नामक बौद्धग्रन्थलाई नेपाल भाषामा अनुवाद गरेका थिए ।

बौद्ध धर्मावलम्बीर्ले सो ग्रन्थलाई महत्वपूणरुपमा लिँदै आएका छन् । बुद्धको जीवनी अध्ययन गर्न चाहने अनुसन्धानकर्ताका लागि यो ग्रन्थ उपयोगी मानिन्छ । नेपाल भाषा पुनर्जागरणकालका अग्रणी बज्राचार्यको जन्मजयन्तीका अवसरमा बज्राचार्य क्लबले दीप प्रज्वलन पनि गरेको थियो । उनीप्रति साहित्यकार सुवर्ण शाक्य, पवित्र बज्राचार्यलगायतले श्रद्धा व्यक्त गरेका थिए ।

ने.सं ९७८ थिंलाथ्व चौथीका दिन ओमबहालमा जन्मिका पं निष्ठानन्दले त्यसबेला पद्य शैलीमा साहित्य लेखन प्रचलन हुँदै आएकामा गद्य शैलीमा पनि नेपाल भाषामा साहित्य सिर्जना गरी नयाँ अभियानको आरम्भ गरेका थिए । उनले अनुवाद गरेका पुस्तक नेपालमा प्रेस नभएका कारण भारतको कलकत्ता पुगेर कम्पोज गर्ने प्रविधि सिकेर छपाइ अक्षर मगाएर प्रकाशन भएको थियो ।

उनको बौद्धग्रन्थ ‘ललित विस्तर’ ने.सं १०२९ मा प्रकाशन भएको थियो । उनले ‘बोधिचर्यावतार’ तथा ‘आर्यभद्रचरी’ पुस्तकको पनि अनुवाद गरेका थिए । ने.सं १०५५ मा बज्राचार्यको निधन भएको थियो ।