आर्थिक

पर्यटकलक्षित होटल खुल्ने क्रम बढ्दो

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि दर्ता भएका छन् ।

विभागका अनुसार पाँचतारे चार, चारतारे तीन, एकतारे एक, पर्यटक स्तरका सात र होमस्टे तीन वटा बनाउनका लागि विभागमा दर्ता भएका हुन् ।

तीनतारे होटल भने गत आर्थिक वर्षको तुलनामा पाँच घटेका छन् भने दुईतारे होटल एक पनि दर्ता भएका छैनन् । नयाँ होटल तथा घरवास दर्ता भएसँगै अब नेपालमा पर्यटकस्तरका ९२३ होटल तथा घरवास हुनेछन् जसमा पाँचतारे १५, चारतारे १३, तीनतारे ३३, दुईतारे ४३, एकतारे ३५, पर्यटकस्तरका ५२७ र घरवास २५७ रहेका छन् ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भ्रमण वर्षको तयारीसँगै पर्यटकीयस्तरका होटल तथा घरवासमा लगानी गर्नेको सङ्ख्या पनि बढिरहेको बताउछन् । कतिपय होटल भने प्रदेशस्तरमा दर्ता भएर सञ्चालनमा आउने तयारी भइरहेको विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्र ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले राखेको लक्ष्यअनुसार विदेशी पर्यटक नेपाल आए होटल अपर्याप्त हुने व्यवसायीले बताएका छन् ।