अन्तर्राष्ट्रिय

सिरियाली संविधान संशोधनका लागि भएको दोस्रो चरणको वार्ता निष्कर्षविहीन

एजेन्सी । सिरियाको संविधान संशोधनका लागि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सरकार र विद्रोहीबीच भएको दोस्रो चरणको वार्ता संशोधनका लागि सहमति निर्माण हुन नसकेपछि कुनै निष्कर्षविना नै शुक्रबार सकिएको छ ।

राष्ट्रसंघको मध्यस्थतामा राष्ट्रपति बसर अल असदको सरकार र प्रतिपक्षी तथा नागरिक समाजबीच बराबर प्रतिनिधित्व हुनेगरी १५० सदस्यीय संवैधानिक पुनरावलकोकन समितिको गठन गरिएको थियो ।

उक्त समितिले संविधानको नयाँ ड्राफ्ट तयार गर्न समितिका सदस्यबाट नै ४५ सदस्यीय टोली गठन गरेको छ । तर तीन लाख ७० हजार सिरियालीको मृत्युको कारक द्वन्द्वको राजनीतिक समाधान निकाल्ने सम्भावना क्षीण बनेको छ ।

“समितिमा प्रस्तुत भएका एजेन्डामा नै सहमति नबनेपछि ४५ सदस्यीय संविधान सुधार मध्यस्थकर्ताको उपसमितिको बैठक बोलाउन असम्भव बनेको छ,” सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेइर पेदर्सनले पत्रकारहरूसँग भने ।

उनले अब सबै पक्ष कहिले भेट्ने पनि अहिले टुङ्गो लगाउन नसकिएको बताएक छन् । असद सरकारले एजेण्डामा आतङ्कवादविरुद्ध लड्ने र राष्ट्रसंघको प्रतिबन्ध हटाउने बुँदा राख्नुपर्ने अडान राखेका कारण सहमतिमा पुग्न कठिनाई भएको यसै हप्ता विपक्षी समूहका प्रतिनिधिमण्डलका नेता यहया अल–अरिदीले बताएका थिए ।

अरिदीले सरकारी अडानलाई ‘राजनीतिक बिषय’ भन्दै यसलाई संविधान लेखनसँग जोड्न नसकिने बताएका थिए ।असादका मध्यस्थकर्ताहरूले आतङ्कवादको बिषयलाई यस पहिलेका वार्तामा पनि निरन्तर उठाएका थिएभने राष्ट्रसंघको सुपरीवेक्षणमा निर्वाचन र संवैधानिक सुधारको छलफललाई इन्कार गर्दै आएका थिए ।