साहित्य

चुनाव जित्नेहरुले बालुवाटारको सरकारी जग्गा हडपे !

-बडुवाल कपिल सिजापती                                                                                                               -कविता

उपनिर्वाचनको नाममा
फेरि मञ्चन गर्न खोजिदै छ
लुटेराहरुलाई वैधानिकता दिने खेल
प्रथम हुनेहरुले जित्ने नाटक ।

साम, दाम, डण्ड, भेदका अस्त्र
केवल जित्नका लागि प्रयोग गरेर
जित्नेहरुले के गरे, कसलाई थाहा छैन ?
कर छलीमा एनसेललाई सघाए
वाइडबडी विमानबाट अरबौ कुम्ल्याए
बालुवाटारको सरकारी जग्गा हडपे
निर्मलाका बलात्कारीलाई संरक्षण गरे
सुन तस्करहरुसँग साँठगाँठमा बसे ।

सात सालदेखिका निर्वाचनहरुबाट
जित्दै आएकाहरुले आखिर के गरे
कसलाई थाहा छैन ?
चुनाव जित्नेहरु हुन, कोसी बेच्ने पनि
गण्डक बेच्ने, अरुण बेच्ने, जित्नेहरु हुन
चुनाव जितेकाहरुले हो, महाकाली बेचेको ।

चुनाव जितेपछि नै हो
पूर्व–कमाण्डरहरुले कर्णाली बेचेको
सहिदका सारा सपना भुलेर
आफ्नो आर्दश, उद्देश्य त्यागेको
र, सत्तारसम्पत्तिसामु घुडा टेकेको ।

श्वास फेर्ने सजिव प्राणीमा
आज कसलाई थाहा छैन ?
हाम्रो गरिबीको कारण
बेरोजगरी, भ्रष्टाचारको कारण
कार्यकारी सिहाँसनमा विराजमान
हाम्रो भोटले जित्नेहरु हुन ।
नियमित जसो यो नियतिबाट
आज कसलाई थाहा छैन ?

वास्तवमा, आफुले आफैलाई नजिताइकन
गुम्राहमा राखेर आफुलाई
भोट दिएर अरु कसैलाई जिताए
न हाम्रो नियति बदलिन सक्छ
न यो संसदीय कुरुप राजनीतिको
निर्वाचन, उपनिर्वाचनहरुबाट
हामीले आफुलाई जिताउन सक्छौँ ।

पैसा र शक्तिको अगाडि
पराजित गरेर आफुलाई
आफ्नो भविष्यको ठेक्का अरुलाई सुम्पिन
यो लुटेरा, दलाल, राष्ट्रघातीहरुको
बोलवाला हुने लोकतन्त्रमा
आफु निहत्था, निशस्त्र बनेर
भोट हाल्नु आत्मघाती हुन्छ ।

बरु, संघर्षको भट्टीबाट चेतना निखार्न
आफ्नो अधिकार भोग गर्न परिपक्क बन्दै
कर्तव्य पालनामा निष्ठावान बनि
देश, जनता र आफुलाई जिताउन
क्रान्तिको एक मात्रै बाटो रोजेर
निर्वाचनका सारा वैधानिक षडयन्त्र
बहिष्कार गर्नु लोकतान्त्रिक हुन्छ ।

यसर्थ, शान्ति र समाजवाद विरोधी
यो उपनिर्वाचन बहिष्कार गरौँ
महान जनविद्रोहको बाटोबाट
आफ्नो क्षमता र भूमिका सहितको
समाजवादी राज्यसत्ता निमार्ण गरौँ ।

अबको सुनौलो बिहानी हाम्रो हुनुपर्छ
अबको हाम्रो जीवन स्वर्णिम हुनुपर्छ ।