सुदूरपश्चिम

महाकाली अस्पतालमा सिकलसेल एनिमियाको उपचार सेवा शुरु

mahakali-hospital.

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा सिकलसेल एनिमियाको परीक्षणका लागि मेसिन जडान गरिएको छ । मेसिन जडान भएपछि कर्मचारीलाई मेसिन सञ्चालन गर्ने र बिरामीको परीक्षण गर्नेबारे तालिम दिइएको छ । जडान गरिएको मेसिन परीक्षणका क्रममा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए ।

केही दिन अझै धनगढीबाट प्राविधिक डाकेर मेसिन सञ्चालनका लागि प्रयोगशालाका प्राविधिकलाई थप तालिम दिएर दक्ष बनाई पूर्णरूपमा सेवा सञ्चालनमा ल्याइने उहाँले बताए । मेसिन जडानसँगै थारु जातिमा देखा पर्ने सिकलसेल एनिमियाका बिरामीको परीक्षणसँगै उपचार निःशुल्क गरिने छ ।

मेसिन खरिदका लागि सुदूरपश्चिम सरकारले रु ५० लाख रकम विनियोजन गरेको थियो । सिकलसेल एनिमियाको उपचार यसअघि कैलालीको सेती प्रादेशिक अस्पतामा मात्रै उपलब्ध रहेको थियो । सिकलसेल एनिमियाका बिरामीका लागि सरकारले औषधि खरिदका लागि रु एक लाख अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

“उपचारका लागि पुगेका बिरामीको उपचारमा लाग्ने औषधि अस्पतालबाटै उपलब्ध गराउछौँ”, सूचना अधिकारी अवस्थीले भने, “खर्च भएको औषधिको सोधभर्ना सरकारबाट प्राप्त हुन्छ ।” टाढाको सेती प्रादेशिक अस्पतालमा सिकलसेल एनिमियाको उपचार गराउँदै आउनुभएका रनु चौधरीले महाकाली अञ्चलमै सेवा शुरु भएपछि सहज हुने भएको बताए ।

कैलाली र कञ्चनपुरमा हालसम्म सिकलसेल एनिमियाका ५२६ जना बिरामी देखा परेका छन् । कञ्चनपुरमा १४० र कैलालीमा ३८६ जनामा सिकलसेल एनिमियाका बिरामी देखा परेका हुन् । सिकलसेल ३३५ महिला र १९१ पुरुषमा देखा परेको छ । सिकलसेल एनिमिया देखापरेका मध्ये पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या अधिक रहेको छ ।

जीवनभर रोगीले औषधी खानुपर्ने भएकाले रु एक लाख थोरै मात्र रकम भएको सिकलसेल एनिमियाबाट प्रभावितहरुको भनाइ छ । अनुदानबापत पाइने रु. एक लाख बिरामीलाई नगद उपलब्ध गराउने नभई अस्पतालले सो रकम बराबरको औषधि रोगीलाई उपलब्ध गराउने गरेको छ ।

मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने प्रक्रियालाई सिकलसेल भन्ने गरिएको छ । सिकलसेल एनिमिया भएका रोगीहरुको गोलाकार रक्तकणिकाहरु छिटोछिटो नष्ट भई रक्तसञ्चारमा अवरोध उत्पन्न हुन्छ र बिरामीको रक्तमा अक्सिजनको कमी हुन गई शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने गर्दछ ।

सिकलसेल एनिमिया भएमा शरीरमा पीडा हुने, अन्य रोगहरुको सङ्क्रमण हुनसक्ने, कमलपित्त जस्तो लक्षण देखिने, फोक्सोमा रोकावट हुने, मिर्गौलामा समस्या देखिने, मस्तिष्काघात हुने, लिङ्ग उत्तेजित हुँदा पीडा हुने, फियो वा कलेजोमा रक्तसञ्चारमा रुकावट हुनेलगायतका लक्षण देखा पर्ने गर्दछन् ।