पु.समाचार

प्रदेशलाई कमजोर बनाएर संघीयता बलियो हुँदैन- उपप्रधानमन्त्री यादव

upendra yadav

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिसन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन्। संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग आज(शुक्रबार) भएको संयुक्त पत्रकार भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताएका हुन् ।

“संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर संघीयता बलियो हुँदैन, पार्टीको मुख्य मिसन नै संविधान संशोधन हो”, उनले भने । उपप्रधानमन्त्री यादवले वार्ताबाटै समस्या समाधान खोज्ने पक्षमा आफूहरु रहेको बताए ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए/नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाइने उनको भनाइ थियो । उपप्रधानमन्त्री यादवले संक्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री यादवले यही मङ्सिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका थिए । समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।