अन्तर्राष्ट्रिय

जापानका पूर्व प्रधानमन्त्री यासुहिरो रहेनन्

Japan's ex-Prime Minister Yasuhiro Nakasone dead at 101

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको आज(शुक्रबार) निधन भएको छ । सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका  नाकासोनेको  १०१ वर्षको उमेरमा निधन भएको हो ।

जापानका निकै लोकप्रिय नेताको छवि बनाएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए । उनले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएका थिए। दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गरेका नाकासोनेले जापानका लागि अमेरिका सदैव अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्दथे । जापानको माथिल्लो सदनका सदस्य समेत रहेका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिएका हुन् । 

पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाएका थिए। नेता नाकासोनेले जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गरेका थिए । उनी आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित थिए ।

नाकासोनेले दोस्रो विश्वयुद्धकालीन तिक्ततालाई थाँती राख्दै चीन र दक्षिण कोरियासँग मैत्री सम्बन्ध विकास गरेका थिए । उनीदक्षिण कोरिया भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री समेत हुन् । अप्रत्यक्ष कर प्रणालीमा व्यापक वृद्धि गर्ने योजना अघि सारेका कारण सन् १९८७ मा उहाँको पार्टी संसदीय निर्वाचनमा पराजित भएको थियो ।