गण्डकी प्रदेश

बाँदरबाट हैरान भएपछि यसो गर्न थाले यी किसानहरु !

पोखरा । खेतीबाली लगाउँदादेखि नपाक्दासम्म अहोरात्र बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेतीतर्फ आकर्षित बनेका छन् ।

बाँदरबाट जोगाउन सकिने भएपछि विगत चार वर्षयता मेकाडामिया नट लगाउन थालेका पुतलीबजार नगरपालिका–२ भैँसेगौँडाका किसान यसलाई वैकल्पिक खेतीका रुपमा अघि बढाएका हुन् । दुःख गर्नुसम्म ग¥यो क्षणभरमा बाँदरले सखाप बनाइदिन थालेसँगै त्यसको विकल्प खोजेका कृषकका लागि मेकाडामिया नट यतिखेर बरदान सावित भएको छ ।

बाँदरबाट जोगाउन सकिने र आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी भैँसेगौँडामा २०७२ सालदेखि नै सामूहिक मेकाडामिया नटको खेती शुरु गरिएको हो ।

राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी यस क्षेत्रका २५ जना कृषक आबद्ध भई सामूहिकरुपमा यसको खेती थालिएको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो । मेकाडामिया नटको बिरुवाको बढ्दो मागलाई दृष्टिगत गरी समूहले नर्सरी तयार गर्दै बिरुवा बिक्री वितरण समेत गर्दै आएको छ ।

अध्यक्ष गुरुङका अनुसार यहाँ उत्पादित बिरुवा स्याङ्जा जिल्लाका साथै कास्की, तनहु, सङ्खुवासभा, चितवनलगायतका जिल्लामा पु¥याइसकिएको छ । भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायतका स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । यस आसपासमा मात्रै व्यक्तिगत रुपमा हाल एक हजार ५०० भन्दा बढी बोट लगाइसकिएको छ ।

ठाउँठाउँमा बाँदरको बिगबिगी रहेको अवस्थालाई दृष्टिगत गर्दै त्यसबाट जोगिने र वर्षौं फाइदा लिन सक्ने भएका कारण यसको खेती थालिएको कृषक बताउँछन् । भैँसेगौँडामा विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङ गाविसका २५ जना कृषकको पहलमा पहिलोपटक नर्सरी तयार गरिएको हो । नर्सरीसँगै आसपासका स्थानीय कृषक व्यक्तिगतरुपमा पनि यसतर्फ आकिर्षत बनेको समूहका सदस्य हिमबहादुर गुरुङले जानकारी दिए ।

मेकाडामियानट खेतीको शुरुआत अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ८०० सम्म बिक्री हुने गरेको बताउँदै गुरुङले बजारको मागअनुसार पु¥याउन धौधौ भएको बताए ।

सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उपयुक्त मानिन्छ । समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटरसम्मको उचाइको सिँचाइयुक्त भूभाग यसका लागि उपयुक्त मानिन्छ । भैँसेगौँडा समुद्री सतहबाट एक हजार ५५० मिटरको उचाइमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

मागअनुसार प्रत्येक वर्ष नर्सरीमा बिरुवा उत्पादन गरिँदै आइएको र हाल करिब दुई हजार जति बिरुवा बिक्रीका लागि राखिएको छ । तनहुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक०मा भैँसेगौँडा पर्ने भएकाले मेकाडामिया नटको बिरुवा तथा फल उत्पादन गर्न सके बजारको कुनै समस्या नहुने कृषकको तर्क छ । सामूहिक प्रयासमा स्थानीयले मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइसकेका छन् ।

कास्की जिल्लाका ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भूभागका साथै आसपासका क्षेत्रमा यसको खेती वर्षेनी विस्तार हुँदै गएको छ । बाँदर नलाग्नुका साथै टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले पनि यस तर्फको आकर्षण बढ्दै गएको हो ।

उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ ।

बाँदरको समस्या वर्षेनी बढ्दै गएका अवस्थामा त्यसबाट जोगाउन सक्ने वैकल्पिक खेतीका रुपमा मेकाडामिया नटको विकास तथा विस्तार उपयोगी बन्दै गएको कृषकको तर्क छ ।