पु.समाचार

हिमाली जिल्लाहरुमा हिमपात सुरुः चिसो वढदै

बाजुरा । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो ।

हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् ।

पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिएका छन् । किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ ।

बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो । अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन् । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ ।

बूढीगङ्गाका गाउँमा विशषेज्ञ सेवा

जिल्लाको बूढीगङ्गा नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित गरी गाउँमा विशषेज्ञ सेवा सञ्चालन गरेको छ । आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरी गाउँमै सेवा सञ्चालन गरेको हो ।

चिकित्सक नै गाउँमा पुर्याएर सेवा दिने गरी विशषेज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताउनुभएको छ । नगरपालिकाले घरमै पुगेर उपचार सेवा शिविर सञ्चालन गरे पनि विशषेज्ञ नै लिएर पहिलोपटक सेवा दिएको हो ।

नगरपालिकाभित्रका १० वटै वडाका प्रत्येक बस्तीमै पुगेर सहज सेवा उपलब्ध गराउने लक्ष्य नगरपालिकाले लिएको छ । दिन बिराएर सेवा सञ्चालन गर्ने निर्णय स्वास्थ्य शाखाको छ । सेवा दिन बिहीबारदेखि नगरपालिकाको केन्द्र रहेको ५ नम्बर वडाबाट शुरु गरेको छ ।

आर्थिक अभावले रोग पाली बसेका र स्वास्थ्य संस्था टाढा भएर उपचार सुविधा लिन नसकेका वृद्धवृद्धा, महिला, असाहय, अशक्तलाई उपचार सेवामा पहुँच पुर्याउने लक्ष्यसहित सेवा दिन थालिएको संयोजक शाहको भनाइ छ ।

नगर कार्यपालिकाको निर्णयअनुसार नै वार्षिक कार्यक्रमका रुपमा सेवा दिने काम थालिएको हो । विशषेज्ञ स्वास्थ्य सेवा दिन एमडिजिपी डाक्टर दुर्गाराज महर्जनसहितको टोली खटिएको छ । टोलीले बिरामीको चेकजाँच, आवश्यक परामर्श र औषधि दिने कार्य गरेको छ ।

गाउँमा उपचार सम्भव नभएको बिरामीलाई थप उपचारका लागि रिफर गर्ने र अति विपन्न समुदायको भए नगरपालिकाले नै उपचार सुविधा दिने गरेको बताइएको छ । सबैको स्वास्थ्य संस्थामा सहज पहुँच नहुने र उपचारका लागि आर्थिक समस्या पनि देखिने भएकाले गाउँमै विशषेज्ञ पठाएर सेवा दिन थालिएको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।

बूढीगङ्गा नगरपालिकाले यसै साता कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न र घरघरमा स्वास्थ्य शिक्षा दिन टोली पठाएको थियो ।