खेलकुद

सागको अन्तिम खेलमा नेपाल भारत संग भिड्दैः नेपालले जित्नै पर्ने

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज (शुक्रबार) भारतसंग खेल्दैछ ।

नेपालको पुरुष भलिबल टिमले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो । नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ । तर खेल नेपाललाई सजिलो भने हुने छैन ।

नेपाली टिम यसअघि भारतसंग पराजित हुदै आएको छ । सागको तयारीका लागि भारतमा गएको नेपाली टिमले भारतको राष्ट्रिय भलिबल टिमसंग तीन मैत्रीपूर्ण म्याच खेलेको थियो । तर नेपाली टिम तीनै वटा खेलमा सोझो सेटमा पराजित भएको थियो ।

नेपालले १० सेटमा मात्र एक सेटमा जित निकालेको थियो । नेपालले १३ औ सागमा पदकको आश राखेको थियो । तर पहिलो खेलमै बंगलादेशसंग पराजित भएपछि नेपालको पदक सम्भावना पातलो बनेको छ । साग खेलकुदमा पुरुष भलिबल पदक विहिन छ ।

भारत सागको पुरुष भलिबलमा पहिलो खेल खेल्दैछ । महिला टिमले बिहिबार नेपाललाई सोझो सेटमा हराएको थियो ।आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे भिड्नेछन् ।