पु.समाचार

आस्थाको दोस्रो गिती एल्बम सार्वजनिक

aastha rauwat second album- aadhar-2 relaeased.

काठमाडौं । गायिका आस्था राउतको दोस्रो गिती एल्बम ‘आधार–२’ सार्वजनिक भएको छ । म्युजिक नेपालले आज आयोजना गरेको कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा सो एल्बम सार्वजनिक  गरेका हुन् ।

कलाकारद्वय श्रेष्ठ र आचार्यले गायिका आस्थाको स्वरमा आफ्नै छुट्टै मौलिकपना रहेको र नेपाली सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे ।

गायिका राउतका पिता लोकगायक हरिबहादुर राउत र आमा गीत रचनाकार सावित्री राउतले आफ्नो छोरीको सफलताप्रति खुसी व्यक्त गरे । गायिका राउतले आफूलाई महजोडीबाटै आधार–२ सार्वजनिक गर्ने तीव्र इच्छा रहेको हुँदा सो सपना पूरा भएको सुनाउँदै तीन वर्षको अथक प्रयासले नेपाली माझ उक्त एल्बम आएको बताइन् ।

उनले गीतको शब्द नै मेरुदण्ड भएको हुनाले आफूले गाए जति गीत सकेसम्म राम्रो गर्ने प्रयत्नमा रहेको उल्लेख गर्दै आफ्नो साङ्गीतिक जीवनका लागि वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीप्रति आभार व्यक्त गरिन् । म्युजिक नेपालले बजारमा ल्याएको र वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले सङ्गीत गर्नुभएको उक्त एल्बममा सात वटा गीतहरु समेटिएका छन् ।

एल्बममा ‘के छ यहाँ’, ‘नाकैमा फुली’, ‘झलझल गर्ने कम्पनी माला’, ‘राम सायली’, ‘सिमाना’, ‘हवाइजहाजको टिकट’ र ‘दशैँ आयो, तिहार आयो’ रहेका छन् । यसअघि गायिका राउतको ‘आधार’ सार्वजनिक भएको थियो । त्यसमा सात वटा गीतहरु रहेका थिए । त्यसमा पनि ‘खै त मलाई झुम्के बुलाकी’ र ‘चौबन्दीमा पटुकी’ स्रोतामाझ निकै चर्चित बन्न सफल भएको थियो ।