खेलकुद

महिला भलिबलमा नेपाल भारतद्वारा पराजित

saag-volleyball-india-vs-nepal

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत नेपाली महिला राष्ट्रिय भलिबलले भारतसँग हार बेहोरेको छ । समूहको दोस्रो खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन  गरेको थियो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले २ ओटा सेट पोइन्ट बचाउन नसक्दा २६-२४ क हार बेहोर्न बाध्य भयो ।

सुरुवाती समयदेखि नै कडा टक्कर चलेको खेलमा नेपाल जितनजिक पुगेर पनि सम्हालिन सकेन । दोस्रो सेटमा नेपालले दवावमा रहँदा अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो सेटमा भारतले एकपक्षीय प्रदर्शन गर्दै २५-१२ को सहज जित दर्ता गर्यो ।

तेस्रो सेटमा भारतले सुरुवाती समयमा फराकिलो अग्रता लिएपनि नेपालले पुनरागमन गर्ने छनक देखायो । तर अनुभवी भारतको टोलीले स्तरीय प्रदर्शनलाई निरन्तरता दिंदै २५-१६ को जित पक्का गर्यो । यस जितसँगै नेपाल र भारत दुवैको ३-३ अंक भएको छ । नेपालले पहिलेा खेलमा बंगलादेशलाई ३-० ले हराएको थियो ।

अब समूहको अन्तिम खेलमा बंगलादेश र भारत भिड्नेछन् । उक्त खेलको विजेताले समूह विजेता र उपविजेताको छिनोफानो लगाउनेछ ।