खेलकुद

साग फुटबल : भारत र पाकिस्तान सहभागी नहुने, नेपालको पहिलो प्रतिस्पर्धी भुटान

13 th saag, male football

काठमाडौं । आइतबारदेखि शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले अघिल्लो संस्करणको उपविजेता भारत र पाकिस्तानले सहभागी नहुने भएसँगै पाँच राष्ट्र(माल्दिभ्स, बंगलादेश, नेपाल, श्रीलंका र भुटान)बीच हुने  पुरुष फुटबलको नयाँ तालिका सार्वजनिक गरेको हो । खेल राउन्ड रोविनका आधारमा सञ्‍चालन हुनेछ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्ने छिन् ।  फुटबल भने दशरथ रंगशालामा मंसिर १६ गतेबाट शुरु हुनेछ । नेपालले पहिलो दिन खेल्ने छैन । साविक विजेता नेपालले १६ गते सोमबार  भुटानसँग खेल्दै यात्रा शुरू गर्नेछ । 

भोलीपल्ट अर्थात् मंसिर १७ गते नेपालले श्रीलंकाको सामना गर्नेछ । मंसिर २० माल्दिभ्सको सामना गर्ने नेपालले राउन्ड रोविनको अन्तिम खेल मंसिर २२ गते बंगलादेशसँग खेल्नेछ । फाइनल सागको समापन दिन मंसिर २४ गते हुनेछ ।

सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान छ । त्यसले नेपालले सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुलाई सिनियर खेलाडीका रुपमा टोलीमा समेटेको छ । सुजल श्रेष्ठको कप्तानीमा रहेको टोली अहिले रंगशालामा अभ्यास गरिरहेको छ ।