अन्तर्राष्ट्रिय

इराकमा सरकार विरोधी प्रदर्शन जारी, ईरानी वाणिज्य दूतावासमा आगजनी

go out iran from iraq aandolan

एजेन्सी ।  मध्य-पूर्व एशियाली देश इराकमा प्रदर्शनकारी समूहले ईरानी वाणिज्य दूतावासमा आगजनी गरेको छ । प्रदर्शनकारी समूहद्वारा नजफ सहरमा रहेको दूतावासमा आगजानी गर्दा कुनै पनि किसिमको मानवीय क्षति नभएको अन्तराष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

इराकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको प्रदर्शनकारीहरूको समूहले आरोप लगाएका छन् । प्रदर्शन शुरू हुनुपूर्व नै ईरानी वाणिज्य दूतावासका कर्मचारी दूतावासबाट बाहिर निस्किसकेका कारण मानवीय क्षति हुन् नपाएको अधिकारीहरूले बताएका छन् ।

यस अघि राजधानी बग्दाददेखि दक्षिण पश्चिममा पर्ने करबला क्षेत्रमा प्रदर्शनकारीहरूले यस्तै प्रकृतिको आक्रमण गरेका थिए ।मुस्लिम सम्प्रदायमा करबलालई ऐतिहासिक स्थलको रुपमा लिने गरिन्छ । करबला शिया समुदायको लागि  मक्कापछिको दोस्रो महत्वपूर्ण स्थान हो । जहाँ इमाम हजरत हुसेन मारिएका थिए ।

इराकमा कयौं दिनदेखि सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारी ‘इराकबाट बाहिर जाउ ईरान’ को नारा लगाउँदै आएका छन् । दुई महिनादेखि जारी प्रदर्शन र हिंसाका कारण इराकमा तीन सय ४४ जनाको मृत्यु भइसकेको छ ।