विचित्र संसार

पसल फुटाएर नगद चोरिएन, प्याज चोरियो

pyaj chorii

एजेन्सी । पछिल्लो समय नेपाल सहित भुटान, भारत, बंगलादेश लगायतका  दक्षिण एसियाली देशमा प्याजको मूल्य आकासिएको छ । नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य उच्च वृद्धि  भएसँगै प्याज आतंक मच्चिएको हो ।

भारतले आफ्नो मुलुकबाट प्याज निर्यात गर्न रोक लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य निरन्तर उकालो लगिरहेको हो । भारतले प्रतिबन्ध घोषणा गरेलगत्तै नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा माथि पुगेको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । नेपालमा व्यवसायीहरुले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमला लगायतबाट प्याज आयात गर्दै आइरहेका छन् ।

भान्सामा मसला र सलाद एवम् स्वादको रुपमा प्रयोग हुँदै आएको प्याजले खानामा रुची बढाउने, रुघाखोकी नियन्त्रण गर्ने, पेट दुःखेको बेला र बान्ता रोक्ने लगायतको कामहरू गर्दछ ।

यस्तैमा, भारतीय राज्य पश्चिम बंगालमा एक अपत्यारिलो घटना घटेको छ । पश्चिम बंगाको पूर्वमिदनापुरको एक पसलमा सोमबार राति चोरी भयो । पसल भित्र रहेको नगद रुपैयाँ र मूल्यवान वस्तुहरू केहि नगरी चोरले लसुन र प्याज मात्रै चोरी भएको घटनाले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

चोरले पसल तोडेर  करिब ५० हजार रुपैयाँ बराबरको लसुन र प्याज लगेको पसलका संचालक अजय दासले बताएका छन् । उनले बताए- ‘अरु कुनै पनि सामाग्री केहि गरेको छैन, प्याज र लसुन मात्रै पसलदेखि गायब छ ।’ चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यवान सामग्री भने चोरी नगरेको उनले स्वीकारेका हुन् ।

भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेको जानकारहरू बताउँछन् ।