प्रदेश 1

नेकपाका वडाध्यक्षको करमा मस्ति, विकास बजेटबाट गरे पाँच लाखको बाइक खरिद

इलाम । इलाम नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले आफ्ना लागि सरकारी ढुकुटिको दुरुपयोग गर्दै लाखौँ रुपैयाँ पर्ने बाइक खरिद गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका श्रेष्ठले बजेट दुरुपयोग गरि झण्डै पाँच लाख पर्ने बाइक खरिद गरेका हुन् ।

वडाध्यक्ष भएपछि नगरपालिकाले दिएको यामाहा कम्पनीको मे १ ब ४०७ नम्बरको बाइक हुँदाहुँदै वडाध्यक्ष श्रेष्ठले आफ्नो लागि ४ लाख ८४ हजार नौ सय पर्ने होन्डा कम्पनीको एस आर बाइक खरिद गरेका हुन् । वडाध्यक्षमा निर्वाचित भएपछि इलाम नगरपालिकाले यामाहा कम्पनीको एस जेड बाइक जिम्मा दिएको थियो । उनले त्यो बाइक आफ्नो लागि नसुहाएको भन्दै झण्डै पाँच लाख पर्ने बाइक खरिद गरेका हुन् ।

चालु आर्थिक वर्षमा नगरपालिकाले २ वटा बाइक किन्ने निर्णय गरेपनि श्रेष्ठले आफ्नो पुरानो बाइक हतारहतार फिर्ता गरि नयाँ खरिद गरेका थिए । बाइक खरिद गरि कामको प्रयोजन हेरी कर्मचारीलाई प्रदान गर्ने नगर कार्यपालिकाको योजना भएपनि वडाध्यक्ष श्रेष्ठले महङ्गो मुल्यको बाइक खरिद गरेपछि अन्य वडाध्यक्षहरुले त्यहि प्रकृतिको बाइक खरिद गरिद गरि दिनुपर्ने माग राख्न थालेका छन् । पुरानो सरकारी बाइक भएकै वडाध्यक्षले लाखौँ खर्चेर बाइक खरिद गरेपछि नगरपालिकाका कार्यालयमा अहिले अन्य वडाध्यक्षको माग कसरी पुरा गर्ने चिन्ता रहेको छ ।

नगरपालिकाको पाँचौ नगरसभाको निर्णयबाट बाइक खरिद गर्ने निर्णय भएको थियो–नगरपालिका श्रोतले भन्यो–‘कस्तो प्रकृतिको किन्ने र कसलाई दिने भन्ने योजना थिएन । तर तत्कालिन प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई र इञ्जिनियर दिपक गुरागाईले नगर कार्यापालिकामा छलफलै नगराई महङ्गो बाइक खरिद गरेपछि अन्य जनप्रतिनिधिहरुको गुनासो बढी आउन थालेका छ ।’

स्थानीय तहको गठन अघि सोहि वडाको बिकास बजेट छुट्टिने गरेको थियो । वडाध्यक्षले बाइक खरिदमा लाखौँ खर्च गरेको थाहा पाएपछि स्थानीयबासीले नगरपालिकामा विकास बजेट छुट्टयाउनुको साटो गाडि किन किनेको भनेर प्रश्न समेत गर्न थालेका छन् । विकासका योजनाहरु आउनुको साटो वडाध्यक्षको महङ्गो बाइक मोहले जनताहरु आफ्नो जनप्रतिनिधि आफ्नो सुविधा थप्ने योजनामा लागेको भन्दै र विकास नभएको भन्दै आक्रोसित हुने गरेका छन् ।

लाखौँ मुल्यमा खरिद भएको बाइक सोमबार इलाम नगरपालिकाको नाममा पास भएको छ । पास भएको बाइकको नम्बर प्रदेश १ ०१ ००१०–०९६१ रहेको छ । श्रेष्ठ गत स्थानीय निर्बाचनमा नेकपा एमालेबाट बिवयी भएका वडाध्यक्ष हुन् ।