राजनीति

नेबिसंघका १० बिद्यार्थीमाथी आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न काँग्रेसको चेतावनी

काठमाडौं । नेबिसंघका बिद्यार्थीमाथी नेकपा सर्मर्थित अखिलका बिद्यार्थीले गरेको सािँघातिक आक्रमणमा नेपाली काँग्रेसले कडा रुपमा भत्र्शना गरेको छ । एक विज्ञप्ती प्रकाशित गर्दै पार्टीका मुख्यसचिव कृष्णचनद्र पौडेलले नेपाल कमर्श क्याम्पस, मिनभवनमा हिजो क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघ र अनेरास्ववियुको बीचमा छलफल भई बाहिर निस्कने क्रममा सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दिपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावल लगायतका समूहले नेपाल विद्यार्थी संघ इकाई सभापति सरोज तिमिल्सीना, निरज शाह लगायत १० जना विद्यार्थीहरुलाई सांघातिक रुपमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । सरोज तिमिल्सीना र निरज शाह गम्भीर घाइते भई ललितपुर स्थित बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ ।

उक्त घटनाको एक घण्टापछि नेपाल प्रहरीको डिएसीको नेतृत्वमा पुगेका सुरक्षाकर्मीले समेत अनेरास्ववियुका विद्यार्थीहरुलाई संरक्षण गर्दै नेविसंघका विद्यार्थीहरुलाई निर्घात रुपमा पिट्ने काम गरेका थिए । सुरक्षाकर्मीबाट नेविसंघका दुजङ शेर्पा लगायत धेरै विद्यार्थीहरु घाइते भएका छन् भनेका छन्।

काँग्रेसले, ‘शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुमाथि अनेरास्ववियुबाट भएको सांघातिक आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । आक्रमणकारी अनेरास्ववियुका विद्यार्थी एवं संलग्न सुरक्षाकर्मीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्नुका साथै घाइते विद्यार्थीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’ भनेको छ । काँग्रेसले तत्काल नेबिसंघका बिद्यार्थीमाथी आक्रमण गर्नेलाई छानबिन गरी कारबाही गर्न कडा रुपमा माग गरेको छ ।