खेलकुद

मेस्सी प्रेरित बार्सिलोनाद्वारा च्याम्पियन्स लिगमा जित हासिल

एजेन्सी । लियोनल मेस्सी प्रेरित बार्सिलोनाले च्याम्पियन्स लिगमा जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डलाई ३–१ ले हराएको हो । बार्सिलोनाको जितमा लुईस स्वारेज, मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरे । जाडोन साञ्चोले डर्टमण्डका लागि एक गोल फर्काए ।

लियोनल मेस्सीले बार्सिलोनाका जर्सीमा ७ सयौ खेल खेल्दा बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल रह्यो । अर्जेन्टिनी फरवार्डले च्याम्पियन्स लिगमा १ सय १४ गोल गर्न सफल रहे । खेलमा अग्रता बार्सिलोनाले २९ औ मिनेटमा स्वारेजको गोलबाट लिएको थियो । उनले मेस्सीको पासलाई सदुपयोग गर्दै बार्सालाई अग्रता दिलाएका हुन् ।

त्यसको चार मिनेटपछि मेस्सीले घरेलु टोली बार्साको अग्रता दोब्बर पारेका थिए । उनले क्लबका लागि ६ सय १३ गोल गर्न सफल रहे । मेस्सीकै पासलाई सदुपयोग गर्दै ६७ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।

युवा स्टार सान्चोले ७७ औ मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काए । समूह एफको शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट ११ अंक जोड्यो । डर्टमण्ड ७ अंक सहित तेस्रो स्थानमा रह्यो ।