राजनीति

समृद्धिको यात्रामा लैजाने भन्दै जनतामा पारिएको कम्युनिष्टको भ्रम दुई वर्षमै छर्लङगः नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई समृद्धिको यात्रामा लैजाने भन्दै जनतामा पारिएको भ्रम दुई वर्षमा नै छर्लङ्ग भएको आरोप लगाएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारअन्तर्गत बुधबार पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित चुनावीसभामा उनले सरकारले यस अवधिमा केबल काँग्रेस नेतृत्वमा सम्पन्न भएका योजनाको उद्घाटन गरेको र यसबीचमा महँगी, भ्रष्टाचार, हत्या, हिंसा र आतङ्क मात्रै बढिरहेको बताए । आफ्नो राजनीतिक गुरु खेमराज पौडेललाई पार्टीले उम्मेदवारका रुपमा अघि सारेको बताउँदै उनले  त्याग र निष्ठाका पक्षमा उहाँलाई मतदान गर्न आग्रह गरे । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्व सरकारका २१ महिनाको समीक्षा गर्दै मतदान गर्न आग्रह गरे । यो निर्वाचनको विजयले काँग्रेस या नेकपा कुनैका लागि पनि तात्विक प्रभाव नपार्ने भए पनि सरकारलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि महत्वपूर्ण अर्थ राख्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले कास्की २ मा हुने निर्वाचनले पार्टीलाई एक ढिक्का बनाएको बताउँदै सरकारका गलत प्रवृत्तिलाई सच्याउनका लागि पनि काँग्रेसका पक्षमा मतदान गर्न मतदातासमक्ष आग्रह गरे । कार्यक्रममा नेकपा लगायतका दर्जनौं नेता कार्यकर्ताहरु बरिष्ठ नेता पौडेलको हातबाट आशिर्बाद लिदै सत्तारुढ दलले भ्रष्टाचारलाई बढावा दिएको भन्दै काँग्रेस प्रव्श गरेका थिए ।