समाचार

देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्छ, विकल्प छैनः डा महत

भक्तपुर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन् ।

यही मङ्सिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको सङ्घारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको बताए ।

देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले उपनिर्वाचनको नतिजा काँग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताए । काँग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गरे ।

त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाहले राप्रपाको सबै मत काँग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा काँग्रेसले निर्धक्कसँग जित सुनिश्चित गर्ने बताए । विकासमा दुवै दलसँगै लाग्ने पनि उहाँले बताए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, उम्मेदवार कृष्णलाल भँडेललगायतले अरुले दिएको लोभ प्रलोभन र विकासे नारालाई विश्वास नगरी काँग्रेसको विकासको लक्ष्यलाई विश्वास गर्दै मतदान गर्न आग्रह गरे ।