लुम्बिनी

उपनिर्वाचन २०७६ः पुरुषभन्दा महिला मतदाता बढी

दाङ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष मतदाता छन् । शान्तिनगर गाउँपालिकामा नौ हजार २८३ महिला र आठ हजार ८२० पुरुष मतदाता छन् । बबई गाउँपालिकामा नौ हजार ५११ महिला र नौ हजार ३३८ पुरुष मतदाता रहेको कुँवरले बताए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–१, २, १० र ११ मा आठ हजार १६५ महिला, सात हजार ९०५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन् । घोराही उपमहानगरपालिका–१६ मा दुई हजार ३६५ महिला र दुई हजार ८८ महिला मतदाता छन् । चुनावलाई मर्यादित बनाउन विप्लव समूहलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

यसैबिच कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएका छन् । बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले जानकारी दिएका छन् ।

उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेको छ ।

मतपत्रसहित निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी आज बेलुकासम्म सम्बन्धित मतदानस्थलमा पुगिसक्ने कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए । उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ ।

मतदाता सङ्ख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ । निर्वाचनको सम्पूर्ण तयारी सकिएको बताउँदै प्रमुख सुवेदीले भने, “मतपत्र, कर्मचारी व्यवस्थापन, मतदाता शिक्षा, सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी सकेका छौँ ।

जनताले निर्धक्क भएर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।” निर्वाचन कार्यालयले थप भएका नयाँ मतदाताका लागि सम्बन्धित मतदानस्थलमा १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

त्यस्तै मतदाता नामावलीमा नाम समावेश भएकाहरुका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिएका छन् ।