समाचार

वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण

काठमाडौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो । निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ ।

पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताएका छन् । यस्तै बालगोपालश्वर मन्दिरको पुनःनिर्माणको कामसमेत तीव्ररूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले २० प्रतिशत सकिएको छ ।

हाल मन्दिरमा काठको काम भइरहेको छ । पार्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए । “वैशाखसम्ममा नागरिकले पुरानै शौलीको रानीपोखरी देख्न पाउनेछन्”, उनले भने । बाँकी काम पनि नियमितरूपमा भइरहेको छ ।

शुरुआतमा काठमाडौँ महानगरपालिले पुनःनिर्माण गर्ने भनिए पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काममा ढिलाइ भएको हो । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो ।

मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर)  मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । दश महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी प्राधिकरणले निर्माण कम्पनी ‘सिएर तुलसी कन्स्ट्रक्शन जेभी’सँग सम्झौता गरेको छ ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए । रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ ।

पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गुम्बज शैलीमा गरिएको सो मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिट हुनेछ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा पोखरी निर्माण गर्न लगाएका हुन् । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् ।

प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको बताइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरिएको हो ।