शिक्षा

भवन अभावमा पठनपाठन प्रभावितः वर्षात्मा पानी र हिउँदमा शीत तुषारो खस्छ

भोजपुर । व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ । वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत तुषारो खस्छ । पुरानो कमजोर छानासहितको जीर्ण भवन छ । आवासीय विद्यालय भएकाले सुत्ने र खाने कोठामा पनि पानी तथा शीत छिर्छ ।

सबै बालबालिका श्रवणशक्ति कमजोर भएका बहिरा छन् । पर्याप्त दक्ष साङ्केतिक शिक्षक पनि छैनन् । विद्यालयको कोठा र छात्रावासमा आकाशेपानी चुहिँदा जाग्राम बस्नुपर्ने वा अन्त कतै ठाउँ सरेर बस्नुपर्ने अवस्था भएको विद्यार्थी एलिसा श्रेष्ठले बताए ।

“हामीलाई पढ्नभन्दा सुत्न र खाना बनाउन समस्या हुन्छ”, उनले भने, “सबै पानी चुहिन्छ, राति पानी पर्दा ठाउँ सारी सारी जाग्राम बस्नुपर्ने बाध्यता छ ।” विद्यालय स्थापनापछि जिल्लाका विभिन्न ग्रामीण भेगबाट श्रवणशक्ति कमजोर भएका विद्यार्थीको भर्ना हुने सङ्ख्या बढ्दो छ । विद्यालयमा अहिले बालिकाको सङ्ख्या धेरै छ । साँघुरो र जीर्ण भवनमै पठनपाठन गर्नुपर्दा सास्ती भएको शिक्षकहरु सुनाउँछन् ।

फरक क्षमताका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले डेढ वर्षअघि भूकम्पले जीर्ण बनाएको भवनमा विद्यालय स्थापना गरिएको थियो । कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी–शिक्षक दुवैलाई समस्या हुने गरेको शिक्षक सरिता तामाङले बताए ।

उनले भने, “छानो पुरानो र भवन जीर्ण भएकाले वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत पस्छ । कक्षाकोठा पनि साँघुरो छ, छात्रावासमा सबैभन्दा बढी समस्या हुन्छ । पठनपाठनमा असर पुर्याएको छ ।”बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई साङ्केतिक भाषाका माध्यमले पढाइनुका साथै टाढाका विद्यार्थीलाई खाने र बस्ने पनि व्यवस्था मिलाइएको छ ।

बालबालिकाको सङ्ख्या बढ्दै गएकाले भवन थप्नुपर्ने अवस्था भएको शिक्षक शन्तकुमार तुम्बापोले सुनाए । विद्यालयमा अहिले १३ श्रवणशक्ति कमजोर भएका विद्यार्थी छन् । भूकम्पले जीर्ण बनाएको भवनलाई टालटुल तथा घेरबार गरेर विद्यालय सञ्चालन गरिएको छ ।