खेलकुद

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सद्धारा एट्लेटिको पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई हराएको छ । मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० ले हराएको हो ।

युभेन्ट्सका पाउलो ड्याबालाको फ्रिकिक गोल एट्लेटिकोलाई हराउन पर्याप्त बन्यो । पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् । अघिल्लो खेलमा आराम गरेको क्रिस्टियानो रोनाल्डोले पुरा ९० मिनेट मैदानमा बिताएका थिए ।

एटलान्टाविरुद्वको अघिल्लो खेलमा युभेन्ट्सले रोनाल्डोलाई आराम दिएको थियो । समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्यो । युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो । एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो स्थानमा छ ।

एट्लेटिकोको अघिल्लो चरण प्रवेशको सम्भावना अझै छ । क्लबले अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेल्नेछ । सो खेलमा जित हासिल गरेको अवस्थामा स्पेनिस क्लब समेत नकआउट चरणमा पुग्नेछ ।