समाचार

व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ– अध्यक्ष सिंह

काठमाडौं । म्याद थप, बैंक क्रेडिट लाइनलगायत मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज दोस्रो दिन पनि प्रधानमन्त्री निवास बालुवाटारअघि शान्तिपूर्ण धर्ना दिएको छ ।

धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासङ्घले जनाएको छ । महासङ्घले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको जनाएको छ ।

निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरुसमक्ष आन्दोलनको विकल्प नरहेको अध्यक्ष रवि सिंहले बताए । आन्दोलनअन्तर्गत महासङ्घले माइतीघर मण्डलालगायतका सडकमा कालो झण्डासहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्गअनुसार चरणबद्ध रूपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्णरूपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने अध्यक्ष सिंहले जानकारी दिए ।