अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ४० लडाकू मारिए

afagansthan

एजेन्सी । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका हुन् । सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी ६ तालिबान लडाकू मारिएका छन् भने लडाकूहरुले प्रयोग गरेको दुई सवारी साधन जलेका छन् । त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकू मारिएको अफगानी सुरक्षाकर्मीहरुले जनाएका छन् ।

लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टाछुट्टै सुरक्षा कारबाहीमा थप ९ जना मारिएका छन् । त्यसैगरी अन्य विभिन्न प्रान्तहरुमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक फरक संख्यामा लडाकूहरु मारिएका सैन्य अधिकारीहरुले जनाएका छन् ।