राजनीति

सीमा विवादबारे देउवा : कांग्रेसले साथ् दिँदा पनि सरकारले केहि गर्न नसक्नु लज्जास्पद

मोरङ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतले सार्वजनिक गरेको नयाँ नक्साबारे बोल्दै भारतले नेपाललाई पाकिस्तानकै कोटीमा राखेर व्यवहार गरेको आरोप लगाएका छन् ।

पछिल्लोपटक भारतद्वारा सार्वजनिक गरिएको नयाँ राजनीतिक नक्साबारे विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति देउवाले भारतले पाकिस्तानमाथि देखाए जस्तै व्यवहार नेपालमाथि पनि देखाएको बताएका हुन् ।

‘‘भारतको व्यवहार पाकिस्तान र नेपाल उस्तै बराबर हो भन्ने जस्तो देखिएको छ । नक्सा किन छापियो अहिले ? भारतले पहिले काश्मीरको नक्सा हान्यो अनि पछि नेपालको हान्यो, यसले पाकिस्तान र नेपाल उस्तै-उस्तै बराबर हो भन्ने भारतको व्यवहारले देखाएको छ’’ उनले बताए ।

सभापति देउवाले सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले कालापानी भारतमा पर्छ भनेर कहिल्यै नभनेको बताउँदै कालापानीसहितको नक्सा अहिले छापिनु आपत्तिजनक रहेको बताए । ‘‘उसले पनि विवादास्पद मान्दा मान्दै किन नक्सा छापेको ?” उनले थप भने, ‘‘कालापानी नेपालतर्फ पूर्व हो, भारततिर होइन । सीमा नदी भएकोले पानी आधा-आधा हुने हो, पश्चिमतिर भारत हो ।’’

सभापति देउवाले आफू प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको र त्यही नदीलाई सीमा नदी मानिएको समेत बताए ।

उनले सिमा विवादबारे बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रोसँग काम गर्न नसकेको आरोप समेत लगाए । प्रमुख विपक्षीसहित सबै बसेर ‘अभूतपुर्व एकता’ गर्दासमेत प्रधानमन्त्रीले भारतसँग कुरा गर्न नसक्नु लज्जास्पद भएको उनको आरोप थियो । ‘‘ कालापानी भारतकै हो भनेर मैले बोलेको छु र ? बरु प्रधानमन्त्रीलाई अघि बढ्नुस हाम्रो पनि साथ छ भन्दा उहाँले केही गर्न सक्नु भएको छैन्’’ उनले भने ।