समाचार

ठेकदारले युद्धस्तरमा काम नगरे अनसन बस्छु- अध्यक्ष दाहाल

PRACAHNDA BARA

बारा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन् । मधेसमा विकास निर्माणको काम समयमा पूरा हुन् नसकेको बताउँदै अध्यक्ष दाहालले काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनशन बस्ने बताएका हुन् ।

आज(मंगलबार) नेकपा प्रदेश २ ले बाराको निजगढमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन् । ‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने हो म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्‍यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले बताए ।

प्रचण्डले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समाधान गर्ने समेत बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि उनले बताए ।