स्वास्थ्य

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम

रुपन्देही । तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।

गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।

नगरपालिकाको सो निर्णयपछि अब तिलोत्तमाका सबै गर्भवतीले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हाड तथा मानसिक विकासका लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

आमाको गर्भबाटै शिशुले आवश्यक पोषक तत्व पाउन सकून् भन्ने उद्देश्यले गर्भवतीलाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । “कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौँ, आवश्यक प्रक्रियापछि सबै गर्भवतीले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम पाउनुहुनेछ”, नगरप्रमुख घिमिरेले भने ।

नगरपालिकाका १० सरकारी स्वास्थ्य संस्थामार्फत वार्षिक तीन हजार बढी महिलाले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वका अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुक्सना हकले क्याल्सियमले गर्भवतीमा ढाड दुख्ने, हाड खिइनेजस्ता समस्यालाई पनि कम गर्ने बताएका छन् । नगरपालिकाले सङ्घीय सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवासुविधाको अतिरिक्त प्रसूति केन्द्रमा सुत्केरी सेवा लिनेलाई रु ५०० प्रोत्साहन भत्तासमेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए ।

तिलोत्तमाका सेमराबजार र आनन्दवन स्वास्थ्यचौकीमा प्रसूति केन्द्र छन् । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउनने योजनानुरुप चालू आवमा तिलोत्तमामा थप पाँच वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।