समाचार

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे शुरु

अत्तरीया । निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम शुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र शुरु भएको हो ।

निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताएका छन् ।

उनका अनुसार मोहनापुलदेखि चौराहसम्म कालोपत्रको काम शुरु भइसकेकाले अन्य खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ । उक्त सडक दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सडक निर्माणको अवधि गत जेठमै सकिए पनि अहिलेसम्म अवधि नथपिएको प्रमुख एसीको भनाइ छ ।

सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले ढिलाइ भएकामा अहिले भने सडक निर्माणले तीव्रता पाएको छ । पहिलो चरणको ठेक्का शर्मा अमरनागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको जनाइएको छ । सो सडक निर्माणको लागत अनुमान रु एक अर्ब ६८ करोड छ ।