उर्जा

बूढीगण्डकी आयोजनाको ढिलाइप्रति काँग्रेसको चासो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको छ । आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेका धादिङको खहरे बजार क्षेत्र र गोरखाको आरुघाट, आर्खेतलगायत स्थानीयवासीले असन्तुष्टि व्यक्त गरिरहेको र आयोजना कुन ढाँचामा निर्माण गर्ने भन्नेसम्बन्धी कुनै पनि निर्णय नभएकामा सो पार्टीले चासो व्यक्त गरेको हो ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक हजार २०० मेगावाट क्षमताको सो आयोजनामा भइरहेको ढिलाइले आफूहरुलाई समेत संवेदनशील बनाएको बताउनुभएको छ । आयोजानका लागि रकम जोहो गर्ने भन्दै सरकारले भन्सार बिन्दुमा नै डिजेल र पेट्रोलमा प्रतिलिटर रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबाट कात्तिक मसान्तसम्म रु ३८ अर्ब रकम जम्मा भएको छ ।

काँग्रेसले बिनाप्रतिस्पर्धा एक विवादास्पद कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिइएको र हालसम्म काम नै शुरु नभएकामा समेत गुनासो गरेको छ । नेपाल आफैँले निर्माण गर्न जरूरी र सम्भव ठहर गरिएको सो परियोजना लामो समयसम्म अलपत्र पर्नु दुर्भाग्यपूर्ण रहेको काँग्रेसको टिप्पणी छ । नेपाली आफैँले बनाउन सक्ने ठहरका साथ अघि बढाउने सङ्कल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गति अघि बढिसकेको अवस्थामा आयोजनाको भविष्य के हुन्छ भन्ने प्रश्नसमेत काँग्रेसले गरेको छ । प्रवक्ता शर्माले सरकारलाई सोध्नुभएको छ, “अब समग्रमा बूढीगण्डकीको भविष्य के हुन्छ ?”