साहित्य

उफ यो कोठाको जिन्दगी !

कोठा !
मसान्तको भोलि पल्ट, घरबेटी कराउँछ ।
भाई महिना पूरा भयो त ?
बिहान पकाएको दाल, बेलुकी खान खोज्दा गन्हाउँछ ।

उफ यो कोठाको जिन्दगी
हरेक क्षण यहाँ घरबेटी चिच्याउँछ ।
भाई धारा ठूलो नखोल ,भाई ट्वाईलेट गनायो,

भाई के को हल्ला हो रु भाइ ९ बजे गेट बन्द हुन्छ ।
अति धेरै पीडा छ हजुर कोठा बस्नुको ।
प्रत्येक पाईलामा होस पुर्याउनु छ,
किनकी सानो गल्ती भेटे
घरबेटीले भोलि पल्ट कोठा खाली गराउँछ ।

जसोतसो पढेर,
अनलाइन तिर जागिर खाएको छ
दिनभर समाचार लेख्दै बस्दा
बेलुकी ट्याम्पु भाडा नहुँदा
अढाई किलोमीटर हिडेकै छु !

के कुरा गर्नु, यो कोठाको
रित्तो चामलको टिन देख्दा, मुटु भक्कानिन्छ,
सब्जिमा तेलको दाउन नभइ,
आँसुको भुटुनले सब्जी पाक्दो हो त

सायद ,दिनहु मेरो चुल्होमा सब्जी पाक्दो हो ।
तर,
अफसोस तेलको अभावमा
कहिले आलु उसिनिन्छ त
कहिले साग तातो पानीमा तताईन्छ,
वाक्क लाग्छ, यो कोठे जिन्दगी देखेर

तलब थापेको दिन, म भन्दा धेरै घरबेटी रमाउँछ
किनकी तलबको आधा हिस्सा नै उसले लान्छ
अलकती पैसा ग्यास ले खान्छ
अति धेरै पैसा चामलले तान्छ ।

ए साच्ची तलब आएको दिन,
मेरो कोठाको कराई पनि रमाउँछ
उसले तेलको स्वाद पाउँछ
गनेर सिर्फ ६ छाक … !

त्यसपछि त उही
आलु उसिनिन्छ
उही साग तताईन्छ तातो पानीमा
संगै उसिनिन्छन हरेक दिन कैयौं सपनाहरु
यसरी नै कोठा भित्र ,
महिना मर्छ अनि फेरी घरबेटी कराउँछ यसरी नै …….

लेखकः गणेश बिक, ।