समाचार

भारत पुरेयाईएका दुई नेपाली महिलाको उद्धार

काठमाडौं । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।

चोरीमा संलग्न चार जना पक्राउ

नेपाल प्रहरीले रु १२ लाख मूल्य बराबरको ह्याण्डी क्राफ्ट ( काँस तथा पित्तल) का सामाग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेपलाञ्चोका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

“चोरी गरिएका सामग्री वनस्थलीस्थित रोशन लामाको कोठामा लुकाएर राखेको भेटियो”, उनले भने वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५ थान, काँस र पित्तलजस्तो देखिने नौ सिङ्गे दोर्जे १५० थान, चारसिङ्गे एण्डी ११५ थान र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ ।